६ वैशाख २०८१ बिहीबार
खेल

ओलम्पिक महिला फुटबल छनोट : बराबरीले नै नेपाल दोस्रो चरणमा

बंगलादेशविरुद्ध बल अगाडि बढाउँदै नेपालकी सावित्रा भण्डारी (रातो) ।

काठमाडौं – बंगलादेशविरुद्ध मंगलबार भएको समूहको अन्तिम खेलमा बराबरीको नतिजाका बावजुद नेपाल २०२० टोकियो ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

म्यानमारको याङ्गुनस्थित थुवाना रंगशालामा बंगलादेशसँगको खेलमा १–१ गोलको बराबरीमा रोकिए पनि उत्कृष्ट तेस्रो टिमको रूपमा नेपाल दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । यसअघि पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा बलियो म्यानमारसँग पनि नेपालले १–१ गोलको नतिजा सामना गरेको थियो।

यता, मंगलबारकै दोस्रो खेलमा पनि आयोजक म्यानमारले भारतमाथि २–१ को जित निकाल्दै समूहको विजेताका रूपमा दोस्रो चरणमा स्थान बनायो । हारका बावजुद भारतले पनि उपविजेताका रूपमा दोस्रो चरणमा स्थान बनाउन सफल भयो।

समूह ‘सी’ मा कुल तीन खेलमा म्यानमार ७ अंकसहित शीर्ष, भारत ४ अंकका साथ दोस्रो र ३ अंक बटुल्दै नेपाल तेस्रो स्थानमा रहे । यद्यपि, उत्कृष्ट तेस्रो टिम बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको थियो । उत्कृष्ट तेस्रो टिमको दाबेदारमा नेपाल, ताजिकिस्तान, प्यालेस्टाइन र लेबनान थिए।

समूहका शीर्ष २ टिममाथिको जित या बराबरीको अंकलाई मात्र उत्कृष्ट तेस्रो टिमको सम्भावनामा राखिने प्रावधान थियो । सो समूहमा २ खेलको नतिजा मान्य हुँदा नेपालले २ अंक, प्यालेस्टाइनले १ अंक पाए भने ताजिकस्तान र लेबनान अंकविहीन रहे । सोही नतिजापछि नेपालले उत्कृष्ट तेस्रो टोलीका रूपमा दोस्रो चरणमा स्थान बनायो।

तीन समूहको दोस्रो चरणमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । भियतानाम र उज्बेकिस्तानले फिफा वरीयताका आधारमा यसअघि नै दोस्रो चरणमा स्थान बनाइसकेका थिए । पहिलो चरणबाट समूह ‘ए’ को विजेता चाइनिज ताइपेई र उपविजेता फिलिपिन्स,  समूह ‘बी’ को विजेता इरान र उपविजेता हङकङ तथा समूह ‘डी’ को विजेता जोर्डन र उपविजेता इन्डोनेसियाले दोस्रो चरणमा स्थान बनाए । अप्रिलदेखि दोस्रो चरण चरणका खेल हुनेछन्।

दोस्रो चरणका तीन विजेतासँगै अस्ट्रेलिया, चीन, थाइल्यान्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ भने समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । ती ४ टोलीलाई पनि दुई समूहमा विभाजन गरी होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ भने विजेता २ राष्ट्रले टोकियो ओलम्पिक खेल्नेछन्।

मंगलबार नेपालले सुरुआती अग्रता गुमाउँदा उत्कृष्ट उपविजेताको रूपमा दोस्रो चरणमा पुग्ने सम्भावना गुमाएको थियो । नेपालका लागि कप्तान निरु थापाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । निरुले १७औं मिनेटमा सावित्रा भण्डारीको पासमा गोल गर्दै नेपालको सम्भावना जीवितै राखेकी थिइन् । त्यो गोलसँगै नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।

खेल सकिन लाग्दासमेत नेपाल जितनजिक पुगेको थियो । तर, इन्जुरी समयमा समालिन नसक्दा नेपालले छनोटमा पहिलो जित निकाल्ने अवसर गुमायो । यससँगै नेपालले लगातार तेस्रो खेलमा अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो । ९३औँ मिनेटमा बंगलादेशकी अखि खातुनले गोल गर्दै नेपालको लक्ष्यलाई पूरा हुन दिइनन्।

‘बंगलादेशविरुद्ध रणनीतिअनुरूप हामी खेल्न सक्यौँ । त्यसैले बराबरी सम्भव रह्यो,’  नेपालका प्रशिक्षक हरि खड्काले भने, ‘जुन लक्ष्यका साथ हामी यहाँ आएका थियौँ । त्यो लक्ष्य पूरा भएको छ । चीन भ्रमणका क्रममा भएका कमजोरीलाई केलाउँदै हामीले नयाँ रणनीति बनाएका थियौँ । जुन उपयोगीमूलक बन्यो।’

समूहका शीर्ष २ टिममाथिको जित या बराबरीको अंकलाई मात्र उत्कृष्ट तेस्रो टिमको सम्भावनामा राखिने प्रावधान थियो । सो समूहमा २ खेलको नतिजा मान्य हुँदा नेपालले २ अंक, प्यालेस्टाइनले १ अंक पाए भने ताजिकस्तान र लेबनान अंकविहीन रहे । सोही नतिजापछि नेपालले उत्कृष्ट तेस्रो टोलीका रूपमा दोस्रो चरणमा स्थान बनायो।

प्रकाशित: २७ कार्तिक २०७५ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App