१६ चैत्र २०८० शुक्रबार
खेल

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप : कोरिया शीर्षमा, नेपाल अझै कमजोर

स्याङजामा भइरहेको प्याराग्लाइडिङको एक्युरेसी विश्वकमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः मोहन गुरुङ/नागरिक

पोखरा/स्याङजा – स्याङ्जाको स्वरेकमा भइरहेको प्याराग्लाइडिङ एक्युरेसी वल्डकप (पिजिएडब्लुसी) को शनिबार पाँचाैं राउन्ड सकिँदासम्म कोरियाका खेलाडीले शीर्ष तीन स्थानमा वर्चस्व राखेका छन्।

पहिलो दिनको प्रतिस्पर्धामा स्लोभानियाका खेलाडीले अग्रता लिए पनि शनिबार पाँचाैं राउन्ड सकिँदासम्म स्लोभानियालाई पछाडि पारेर कोरियाका खेलाडी शीर्ष तीनसम्म पुगेका हुन् । नेपाल भने दशौं नम्बरमा पुगेको छ । दुई राउन्ड सकिँदासम्म नेपाल पाँचाैं स्थानमा थियो । शुक्रबार पाँचाैं नम्बरमा रहेको नेपाल शनिबारको प्रतिस्पर्धाबाट दशौंमा पुगेको हो।

आइतबार अन्तिम एक राउन्ड बाँकी छ । शीर्ष तीनमा पुगेका कोरियाका खेलाडी स्याङगु लिमले १० अंक बटुलेका छन् । दुई राउन्डसम्म उनी तेस्रो स्थानमा थिए । उनलाई पछ्याउँदै कोरियाकै किम की हिओन  दोस्रो स्थानमा छन् । किमले ११ अंक बटुलेका छन् । पाँचाैं राउन्डमा स्पट ल्यान्डिङ गर्दा किम सहजै माथि उक्लिएका हुन् । किम शुक्रबारसम्म सातौं नम्बरमा थिए । कोरियाका जिहुन यो १३ अंकका साथ तेस्रो स्थानमा छन् । शुक्रबार पनि जिहुन तेस्रो स्थानमै थिए।

दोस्रो राउन्ड सकिँदासम्म पहिलो स्थानमा रहेका स्लोभानियाका प्रिलोजुइक रोक शनिबार सन्तुलन गुमाउँदा कोरियाली खेलाडीलाई शीर्ष स्थान बुझाई चौथोमा पुगेका छन् । रोकले पाँचाैं राउन्ड सकिँदा १४ अंक बटुलेका छन् । पाँचौं स्थानमा पनि कोरियाकै खेलाडी छन् । कोरियाका सियोङमिन ली १५ अंकका साथ पाँचौं नम्बरमा छन् । छैटौं नम्बरमा पनि कोरियाले नै बाजी मारेको छ । आठौंमा चीन र नवौंमा पुन कोरिया छन् । दशौं नम्बरमा बल्ल नेपाल छ । दशौंमा नेपालका युकेश गुरुङ छन् । उनले पाँच राउन्ड सकिँदा २८ अंक बटुलेका छन्।

‘कोरियाका खेलाडीसँग लामो अभ्यास छ । हामीले एक्युरेसीमा अभ्यास गर्न पाएकै छैनौं।’

ओभरअलतर्फको व्यक्तिगत विधामा नेपालको उपाधि दाबेदारी करिब सकिएको छ । तर सहभागी खेलाडी विमल अधिकारीले नेपालको अवस्था अझै कमजोर भन्न नमिल्ने बताए । ‘हुन त हामी पाँचौं राउन्ड सकिँदासम्म निकै नै पछाडि छौं । तर एक राउन्ड बाँकी नै रहेकाले अहिले नै आशा मार्न हुँदैन,’ अधिकारीले भने, ‘तर ओभरअलमा नेपाललाई कठिन छ । सहजै उपाधि आउँदैन । नेपाल टप टेनमा पक्कै पर्छ।’

उनका अनुसार कोरियाका खेलाडी निकै नै अब्बल छन् । स्लोभानियाका खेलाडीलाई पछाडि पारेर शीर्ष स्थानमा उक्लेर कोरियाले धेरै नै राम्रो गरेको उनले बताए । ‘कोरियाका खेलाडीसँग लामो अभ्यास छ । हामीले एक्युरेसीमा अभ्यास गर्न पाएकै छैनौं,’ अधिकारीले भने, ‘ओभरअलमा नेपालीलाई कठिन भएकै हो । अभ्यासको कमी भएको हो ।’ क्रसकन्ट्रीमा नेपालको अभ्यास राम्रो भएको पनि उनले बताए । ‘क्रसकन्ट्रीमा जत्तिकै नेपालको अभ्यास एक्युरेसीमा भए त निकै नै राम्रो हुन्थ्यो,’ उनले भने।

निर्णायक मण्डलका सदस्य बालकृष्ण बसेलले नेपाली खेलाडी ओभलअरलमा पछि पर्दै गएको बताए । ‘तुलनात्मक रूपमा नेपालीले पनि राम्रो खेलेका हुन् । तर, अरू मुलुकका खेलाडी अझै अब्बल रहेछन्,’ उले भने, ‘एक्युरेसीमा नेपालले धेरै नै मिहिनेत गर्नुपर्छ ।  एक्युरेसीमा नेपालीले सिक्नुपर्ने धेरै नैै छ ।’ नेपालमा एक्युरेसीका प्रतिस्पर्धा कम हुने भएकाले यो अवस्था आएको उनले बताए।

टिम विधामा भने नेपालले राम्रो गरेको उनले बताए । टिम विधामा भने चौथो राउन्डसम्मको मात्र परिणाम आएको छ । चौथो राउन्डसम्मको अवस्थामा कोरिया नै पहिलो र दोस्रो स्थानमा छ । नेपालले तेस्रो स्थान ओगटेको छ । चौथो स्थानमा कोरिया नै रहेको छ । पाँचाैं स्थानमा नेपाल छ । अधिकारीले टिम विधामा दोस्रो स्थानमा उक्लने सम्भावना रहेको बताए । टिम विधामा चौथो राउन्डसम्म प्रथम र द्वितीय भएको कोरियाले क्रमशः ५८ र १ सय ३७ अंक बटुलेको छ । तेस्रो भएको नेपालको २ सय ४१ अंक छ । चौथो भएको कोरियाले २ सय ६८ अंक पाएको छ । पाँचौं स्थानमा रहेको नेपालले ३ सय २ अंक बटुलेको छ । ‘नेपालले सहजै आशा गर्ने विधा नै टिम विधा हो,’ अधिकारीले भने, ‘ टिममा कुनै न कुनै उपाधि नेपालले जित्नेछ ।’ एक्युरेसीमा कम अंक पाउनु राम्रो मानिन्छ । सबभन्दा कम अंक अर्थात् शून्य आउनुलाई यो विधामा उत्कृष्ट मानिन्छ।

महिलातर्फ पनि एकलमा पाँचाैं राउन्ड सकिँदासम्म कोरियाले नै शीर्ष स्थान ओगटेको छ । महिलातर्फ कोरियाका इयुनयोङ चो २३ अंकका साथ पहिलो भएकी छिन् । ४३ अंकका साथ कोरियाकै इन्सुक काङ  दोस्रोमा छिन् । तेस्रो भएकी कोरियाकै ह्युङही किमले ५० अंक बटुलेकी छिन् । महिलातर्फ चौथोमा इन्डोनेसियाकी गीता रेज्की वाइ गुन्तारीले २ सय २ अंक बटुलेकी छिन् । पाँचौ स्थानमा बल्ल नेपालकी त्रिशा श्रेष्ठ बमजन छिन् । बमजनले ७ सय ६४ अंक पाएकी छिन्।

स्थानीय बाबु एडभेन्चर क्लब, नेपाल हवाई खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजनामा स्याङ्जामा यो प्रतिस्पर्धा सुरु भएको हो । विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी वल्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीयतहको सहयोगमा यो प्रतिश्पर्धा आयोजना भएको हो।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App