१६ चैत्र २०८० शुक्रबार
खेल

मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली विजयी

काठमाडौं – मैत्रीपूर्ण खेलका चीन भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको छ।

नेपाललाई विजयी गराउन सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरे । १६औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० को जित हात पारेको नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दा थप दुई गोल गर्न सफल भयो।

खेलमा दीपाले ५५औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दै खेल २–० मा पुर्याएकी थिइन् । घरेलु टोलीविरुद्ध हाबी बनेको नेपाली टोलीका लागि इन्दिराले खेल सकिन ८ मिनेट बाँकी छँदा तेस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । घरेलु टोलीले गोलका सुन्दर मौका सिर्जना गरे पनि गोल भने गर्न सकेन।

सोमबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बोइजिङ फोनिक्ससँग ४–१ ले पराजित भएको थियो । मैत्रीपूर्ण खेलअन्र्तगत नेपालले अन्तिम खेल बुधबार फोनिक्ससँग नै खेल्नेछ । पहिलो खेलमा पराजय भोगेको नेपालका लागि उक्त खेल बदला लिने मौका हुनेछ । टोली तेस्रो मैत्रीपूर्ण खेलपछि शुक्रबार चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमार जानेछ।

नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश  छन् । नेपालले पहिलो खेल कात्तिक २२ गते भारत, कात्तिक २५ गते आयोजक म्यानमार र अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ । पहिलो पटक ओलम्पिकको महिला फुटबल छनोटमा भाग लिन लागेको नेपाली टोलीको प्रशिक्षण राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले सम्हालिरहेका छन्।

प्रकाशित: १४ कार्तिक २०७५ ००:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App