७ आश्विन २०७७ बुधबार
खेल

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै

काठमाडौं – इङ्ल्याण्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ। आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ।

ट्रफी नेपालमा चार दिन राखिनेछ। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ।  पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।

त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ। सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिइन्। आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो।

नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो। विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ। क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो। फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ। ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।   (रासस)

प्रकाशित: ८ कार्तिक २०७५ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App