८ वैशाख २०८१ शनिबार
खेल

तयार भयो मैदान र पिच

प्रशिक्षणरत पोखरा पल्टन टाेली (माथि) र पिच नयाल्दै पारस खड्का तल। तस्बिर साैजन्यः सुदर्शन रन्जित

पोखरा – तीन दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएल) शुरु हुने छ । काम बिहानदेखि साँझसम्म भइरहेको छ । बाँकी त केवल पिच र आउटफिल्डको छ।

पिचमा नियमित रोलर लगाइएको छ । रोलर लगाउँदै पानीले छम्कदैं गरिएको छ । दुबो उमारिएको छ । आउटफिल्ड भने दक्षिण पश्चिम साईडमा केही उबडखाबड छ । त्यसलाई पनि रोलर लगाएर सम्याउने योजना छ । त्यसपछि फाईनल टच दिने लक्ष्य आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले लिएको छ।

‘पोखरा प्रिमियर लिग पोखराको लागि ब्राण्ड हो,’ क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने, ‘त्यो ब्राण्डलाई पोखराले नै क्यास गर्ने हो । हामीले लिएर जादैनौं ।’ उनकै शब्दमा पोखरा प्रिमियर लिगले पोखराको क्रिकेटखेलको विकास र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने छ । पुरस्कार राशी र अन्य जानकारी भने पत्रकार सम्मेलन गरेर नै घोषणा गर्ने उनको भनाई थियो।  

नेपाली राष्ट्रिय  क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि पोखरा रंगशालाको क्रिकेट मैदान प्रत्यक्ष नियाले । उनले आउट फिल्ड परीक्षण गर्ने क्रममा बलले व्याटिङ गरेर चेक गरे । केही ठाँउमा रोलर लगाउनुपर्ने आवश्यकता औंल्याए । ‘क्रिकेटको स्टार्डण्र्ड अनुसार मैदान छ । पोखरा प्रिमियर लिगपछि आवश्यक भौतिक पुर्वाधार थपियोस । हामीले पनि केही सिक्ने मौका पाँउ र केही नयाँ पुस्ता सिकाउने अवसर मिलोस,’ पारसले भने, ‘झण्डै पाँच वर्षपछि पोखराको मैदानमा उत्रिने पाउने अवसर नै सौभाग्य पाएको छु।’

पिपिएलमा विभिन्न ६ सहरका टोलीले टिम दर्ता गराएका छन् । विराटनगर टाइटन्स, चितवन राइनोज, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्सले प्रतियोगितामा सहभागिता जनाउँदै छन्।

प्रतियोगितामा चितवन राइनोजले राष्ट्रिय टोलीका कप्तान पारस खड्का र विराटनगर टाइगर्सले युवा लेग स्पिनर सन्दीप लामिछानेलाई आफ्नो टिमको मार्की खेलाडी घोषणा गरेका छन् । त्यस्तै, राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्सका मार्की खेलाडी घोषित हुँदा शरद भेषावकर पोखरा पल्टनको मार्की खेलाडी बनेका छन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरी धनगढी ब्लुजको मार्की खेलाडी भएका छन् भने सोमपाल कामीलाई बुटबल ब्लास्टर्सले मार्की खेलाडी बनाएको छ। 

पिपिएलको नियमअनुसार सहभागी ६ टोलीले मार्की खेलाडी, २ विदेशी खेलाडी र दुई स्थानीय खेलाडीबाहेक टोलीमा अनुबन्धन गर्न १३ लाख मात्र खर्च गर्न पाउने नियम राखेको थियो । प्रतियोगिताका लागि विराटनगर टाइटनले १३ लाख, बुटबल ब्लास्टर्सले १२ लाख ९० हजार, चितवन राइनोजले १४ लाख ९० हजार, धनगढी ब्लुजले १२ लाख, काठमाडौं रोयल्सले १२ लाख ८० हजार र पोखरा पल्टनले १२ लाख ९० हजार रुपैयाँ खेलाडी खरिदमा खर्च गरेका छन्।

पोखरा पल्टनले १२ जना खेलाडी किनेको छ । काठमाडौंले पनि १० जना खेलाडी खरिद गरेको छ । धनगढीले १३ जना खेलाडी, चितवनले १०, बुटवल ब्लास्टर्सले १३ र विराटनगर टाइटनले १२ जना खेलाडी खरिद गर्दै आफ्नो टोलीमा समावेश गरिसकेको छ।

प्रतियोगिता नजिकिदैं गर्दा क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले (आईसिसी)ले पोखरा प्रिमियर लिगलाई मान्यता दिएको छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App