१६ चैत्र २०८० शुक्रबार
खेल

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सीले एल क्लासिको गुमाउने

काठमाडौं – बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा सेभियालाई ४–२ ले पराजित गरेको छ। यो खेलमा स्ट्राइकर लियोनल मेस्सी भने घाइते भएका छन्।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै मेस्सीको पासलाई सदुपयोग गर्दै फिलिपे कौटिन्होले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १२ औं मिनेटमा मेस्सीले नै गोल गर्दै अग्रता दोब्बर पारे। तर मेस्सी २६ औं मिनेटमा चोट ग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए। उनको दाहिने हातमा चोट लागेको छ।

यसैबीच मेस्सीले अर्को साता हुने एल क्लासिको गुमाउने भएका छन्। सेभियासँगको खेलका क्रममा १७ औं मिनेटमा चोट ग्रस्त हुँदै मैदान बाहिरिएपछि मेस्सीले रियल मड्रिडसँग हुने सिजनको पहिलो एल क्लासिको नखेल्ने क्लबले जानकारी दिएको छ। मेस्सीको सेभियाका फ्रान्को भाज्क्वेजसँग ठाेक्किएपछि दायाँ हातमा चोट लागेको थियो। ११ वर्षमा पहिलो पटक क्लासिकोमा मेस्सी र रोनाल्डो दुवै हुनेछैनन्। बार्सिलोनाका अनुसार ३१ वर्षीय मेसीको दायाँ हातको हड्डीमा भाँचिएको छ। उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ।

मेस्सी मैदानबाट निस्किएपछि उनको स्थानमा ओस्मान डेम्बेले मैदान प्रवेश गरेका थिए। मेस्सीको अनुपस्थितिमा पनि बार्साले आफ्नो लय भने गुमाएन। ६३ औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमार्फत टिमका लागि तेस्रो गोल थपे। ७९ औं मिनेटमा क्लिमेन्ट लेङ्गलेटले आत्माघाति गोल गरेपछि सेभियाले बार्सासँगको दुरी ३–१ मा झारेको थियो। तर ८८ औं मिनेटमा इभान राकिटिचले गोल गर्दा बार्साको गोल संख्या ४ पुगेको थियो। इन्जुरी समयमा सेभियाका लुइस मुरियलले गोल गरेपनि बार्सालाई कुनै खतरा भएन।

जितपछि शीर्ष स्थानमा उक्लिएको बार्साको ९ खेलबाट १८ अंक भएको छ। दोस्रो स्थानमा रहेको अलाभेसको १७, तेस्रो स्थानको सेभियाको १६ र चौंथो स्थानको एथ्लेटिको मड्रिडको पनि १६ र पाँचौं स्थानमा रहेको रियल मड्रिडको १४ अंक छ। राति नै भएको खेलमा एथ्लेटिको मड्रिड भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको छ। त्यस्तै भ्यालेन्सीया र लेगानेशले पनि एक–एकको बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: ४ कार्तिक २०७५ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App