१६ चैत्र २०८० शुक्रबार
खेल

यु–१९ एसिया कपः नेपालको सान्तवना जित, युएई ३ विकेटले पराजित

काठमाडौं– युएईलाई ३ विकेटले पराजित गर्दै नेपालले एसीसी यु–१९ एसिया कप क्रिकेटमा सान्तवना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ। अघिल्ला २ खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आफ्नो अन्तिम खेलमा भने जित निकाल्न सफल भयो।

युएईले प्रस्तुत गरेको २ सय ६९ रनको लक्ष्य नेपालले ४९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा रोहीतकुमार पौडेलले सर्वाधिक ९२ रन बनाए। रोहीतले ८८ बलमा ६ चौंका र ३ छक्का प्रहार गरे। सन्दीप जोराले पनि अर्धशतकिय पारी खेल्ने क्रममा ६७ रनको दोस्रो सर्वाधिक रन बनाए। उनले ७४ बलमा ६ चौंका र २ छक्का प्रहार गरे।

त्यस्तै कप्तान आसिफ शेखले ३५, रसिद खानले नटआउट २७ र रीत गौतमले १८ रनको योगदान दिए। सन्दीप आउट भएपछि हारको संघारमा पुगेको नेपालका लागि रोहीत र आसिफले उत्कृष्ट प्रदर्शन गरेका थिए। रसिदले १४ बलमा ३ छक्का प्रहार गर्दै जित दिलाए। युएईका आरोन बेन्जामिन र आर्यन लाक्राले २–२ तथा फहद नवाज र पालानिएपेन मेइयाप्पेनले एक–एक विकेट लिए।

यसअघि बंगलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो। युएईका लागि ओपनिङ ब्याट्म्यान कप्तान फहद नवाज र अन्स टन्डनले अर्धसतकिय पारी खेले। नवाजले ९४ बलमा ५ चौंका र ३ छक्काको मद्दतमा ८४ र टन्डनले ८२ बलमा ८ चौंका र १ छक्काको सहायतामा ६७ रन बनाए।

त्यस्तै ब्रान्डन एडमले १९, वसी शाहले १८, अलि मिर्जाले १६, फिग्य जोनले १५, स्याइद हाइदेरले १२ र पालानिएपेन मेइयाप्पेनले ११ रनको योगदान दिए। नेपालका लागि पवन सरार्फ, नन्दन यादव र रसिद खानले २–२ तथा सुर्य तामाङ र सागर ढकालले एक–एक विकेट लिए।

समूह ‘ए’ मा रहेको नेपाल र युएईले अघिल्ला दुवै खेलमा पराजय भोगेका थिए। यस समूहबाट भारत र अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१  र दोस्रो खेलमा अफगानिस्तानसंग ३ विकेटले पराजित भएको थियो।

 

प्रकाशित: १६ आश्विन २०७५ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App