बर्लिन – मिडफिल्डर ओनड्रजेल डुडाको गोलप्रेरित हार्था बर्लिनले शुक्रबार बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिखको जारी सिजन अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । बुन्डेसलिगाअन्तर्गत शुक्रबार भएको खेलमा हार्था बर्लिनलले साबिक विजेता बायर्नलाई २–० ले स्तब्ध पारेको थियो । बर्लिनले २००९ पछि १५औं प्रयासमा बायर्नलाई निराश पारेको यो पहिलो खेल हो।
यस हारसँगै बायर्नको बुन्डेसलिगामा ५ खेलको अपराजित यात्रा छैटांै खेलमा आएर टुंगिएको छ । यस जितपछि समान १३ अंक भए पनि बर्लिन गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ भने बायर्न शर्षि स्थानमा यथावत् छ । ११ अंक जोडेको बोरुसिया डर्टमन्ड तेस्रो स्थानमा छ।
२३ औं मिनेटमा कप्तान भिडाड इभ्सेभिचले पेनाल्टीमा गरेको गोलमा बर्लिनले अग्रता लिएको थियो । मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा डुडाले गरेको गोलमा बर्लिनले स्पष्ट ३ अंक पक्का गरेको हो।
‘बायर्न उत्कृष्ट टोली हो र सधैं उनीहरूलाई हराउन सकिँदैन,’ इभ्सेभिचले भने, ‘आज त्यो सम्भव भएको छ र यो विशेष उपलब्धि हो । हामीमा भएको जुनसुकै टोलीलाई हराउन सक्षम छाैं भन्ने आत्मविश्वास र टोलीले मैदानमा गरेको उत्कृष्ट प्रदर्शनबाट सुखद नतिजा ल्याउन सफल भयौं ।’ बायर्न सम्हालेपछि प्रशिक्षक निको कोभाकको नौ खेलमा यो पहिलो हार हो।
‘पहिलो हाफमा गरेको गल्ती महंगो साबित हुँदा नतिजा सुम्पिन बाध्य भयाैं,’ कोभाकले भने, ‘यस हारमा अल्झेर बस्नुभन्दा पनि हारबाट पाठ सिक्दै अघि बढ्न आवश्यक छ।
प्रकाशित: १४ आश्विन २०७५ ०४:३६ आइतबार