१६ चैत्र २०८० शुक्रबार
खेल

बंगबन्धुअगाडि लिगका दुई खेल

पत्रकारकाे जिज्ञासा मेट्दै एन्फाका महासचिव इन्द्रमान तुलाधर । तस्बिर साैजन्यः एन्फा

काठमाडौं – शनिबारबाट काठमाडौंमा आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बिहीबार एन्फाले पत्रकार सम्मेलन गरेर शनिबारबाट हुने लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। 

चार वर्षपछि आयोजना हुन लागेको फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एपिएफ क्लबको मैदान हलचोकमा सञ्चालन हुँदै छ । यस वर्षको लिगमा कुनै पनि क्लबको रेलिगेसन नहुने यसअघि नै एन्फाले जानकारी गराइसकेको छ । प्रतियोगिता नियमावलीअनुसार सहभागी सबै १४ क्लबले आवश्यक न्यूनतम खेलाडीहरूको दर्ता गराइसकेको एन्फाका महासचिव  इन्द्रमान तुलाधर बताए। 

‘लिगको सम्पूर्ण तयारी पूरा भएको छ, सहभागी सबै क्लबले लामो समयपछि आयोजना हुन लागेको प्रतियोगिताका लागि खेलाडी दर्ता गराइसकेका छन्,’ महासचिव तुलाधरले भने, ‘बंगबन्धुअगाडि लिगका दुई खेल हुनेछन् । उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी)ले पहिलो खेल खेल्नेछन् । दोस्रो खेल संकटा क्लब र सरस्वती युवा क्लबबीच हुनेछ।’

बंगबन्धुको सहभागिताले क्लबका पदाधिकारीहरू असन्तुष्ट थिए, कसरी सम्बोधन गर्नुभयो भन्ने प्रश्नमा तुलाधरले बंगबन्धु प्रतियोगिताको अवधिमा भएका खेल अर्को सूचना नआएसम्मका लागि स्थगित हुने बताए। 

‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार हामीले तालिका सार्वजनिक गरेका छौं, यदि हाम्रो टोली बंगबन्धुमा लिग चरण पार गर्दै अर्को चरण प्रवेश गरेमा लिगका खेल स्थगित गराउँछौं, अर्को सूचना नआएसम्म ती खेल सञ्चालन गर्नेछैनौं,’ महासचिव तुलाधरले थपे, ‘यदि नेपाल बंगबन्धुमा अघिल्लो चरण प्रवेश नगरे क्लबलाई ७२ घण्टाअगाडि खबर गर्नेछौं र तयारीका लागि पत्राचार गर्नेछौं । दशैं–तिहारअगाडि दोस्रो चरणका खेल सक्न प्रयास गर्नेछौं।’

यस्तै लिगका संयोजक विज्ञानराज शर्माले लिगमा म्याच फिक्सिङको निगरानी गर्न एन्फाले विशेष किसिमको संयन्त्र सञ्चालनमा ल्याउने बताए। 

‘हामीले लिगमा म्याच फिक्सिङ नहोस् भनेर त्यसको अवलोकनका लागि भिन्नै समिति बनाएका छाैं । त्यस्तै सुरक्षाको विषयलाई लिएर पहिलो पटक मैदानमा सिसी क्यामेराको पनि प्रयोग गर्नेछौं,’ संयोजक शर्माले भने, ‘लिगलाई मर्यादित बनाउन हामीले विशेष ध्यान दिनेछौं।’

१४ टोलीले सहभागिता जनाउन लागेको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३५ लाख रुपैयाँ र तेस्रोले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, चौथो, पाँचौं र छैटौं हुनेले क्रमशः १५ लाख, ७ लाख र ५ लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्येक खेलको विजेताले नगद ५० हजार  प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक घोषित हुनेले एक/एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। 

एन्फाले यस अघि नै पुछारमा रहँदै लिगको अन्त्य गर्ने दुई क्लबलाई नयाँ सिजनको लिगका लागि क्रमश २ र १ अंक घटाइने जनाइसकेको छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App