८ वैशाख २०८१ शनिबार
खेल

एसिया कप : चोटका कारण ३ भारतीय खेलाडी परिवर्तन

नयाँ दिल्ली – चोटका कारण अलराउन्डर हार्दिक पाण्डेयसहित भारतीय ३ खेलाडी दुबईमा जारी एसिया कप क्रिकेट प्रतियोगिताबाट बिहीबार बाहिरिएका छन् । पाकिस्तानविरुद्धको खेलमा चोटका कारण पाण्डेयले मैदान छाडेपछि एकदिवसीय खेलमा भारतलाई नराम्रो झड्का लागेको छ। 

२४ वर्षीय पाण्डेय बुधबार दुबईमा भएको पाकिस्तानविरुद्धको खेलमा ढाडको समस्या भएपछि मैदानबाहिर निस्किएका थिए । उनलाई स्ट्रेचर राखेर मैदानबाट बाहिर ल्याइएको थियो । ‘सबैको माया र साथले मेरो स्वास्थ्यमा छिट्टै सुधार आउनेछ,’ पाण्डेयले ट्विट गरेका छन्। 

अलराउन्डर पाण्डेयको स्थानमा दीपक चाहरले खेल्न पाउने भारतीय क्रिकेट बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएर अन्तिम चारमा प्रवेश गरेको छ भने समूह ‘बी’ बाट बंगलादेशले यसअघि नै स्थान बनाइसकेको थियो । भारतले अब आइतबार पाकिस्तानसँग खेल्नेछ।

यस्तै बायाँहाते स्पिनर अक्सर पटेललाई पनि पाकिस्तानविरुद्ध फिल्डिङ गर्ने क्रममा बायाँ हातको चोरी औँलामा चोट लागेको थियो । उनको स्थानमा रवीन्द्र जडेजाले खेल्नेछन्। 

‘पटेलको चोरी औँलाको हड्डीमा चोट लागेको छ । पटेल आगामी खेलमा अनुपस्थित रहनेछन्,’ भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भनेको छ । हिपको चोटले ग्रसित दायाँहाते बलर शार्दूल ठाकुरको स्थानमा सिद्धार्थ काउलले टोलीबाट प्रतिनिधित्व गर्नेछन् । चाहर, जडेजा र काउल बिहीबार टोलीमा सम्मिलित भएका छन्। 

भारतीय टिम नियमित कप्तान विराट कोहलीबिना नै एसिया कपमा सहभागी भएको छ । विश्राममा रहेको कप्तान कोहली छ राष्ट्रिय खेलपछि टोलीमा फर्किनेछन्। 

 

प्रकाशित: ५ आश्विन २०७५ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App