१५ चैत्र २०८० बिहीबार
खेल

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा पुगेको छ। यसअधि नेपाल १ सय ६१ औं स्थानमा थियो।

गएको हप्ता बंगलादेशमा सम्पन साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपाल एक स्थान माथि उक्लिएको हो। नेपाल साफ च्याम्पियन्ससिपको सेमिफाइनलबाट बाहिरिएको थियो। नेपाललाई सेमिफाइनलमा माल्दिभ्सले ३–० ले पराजित गरेको थियो। समूह चरणमा पाकिस्तानसँग २–१ ले पराजित भएपनि नेपालले भुटानलाई ४–० र बंगलादेशलाई २–० ले पराजित गरेको थियो।

साफ च्याम्पियन्सको उपाधि जितेपनि माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५१ औं स्थानमा पुगेको छ। नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ। भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा पुगेको छ। नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। भुटान १८८, बंगलादेश १९३, श्रीलंका १९९ र पाकिस्तान १९९ औं स्थानमा रहेका छन्।

फिफाले जारी गरेको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम, दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा उरुग्वे रहेको छन्।  यस्तै इङ्ल्याण्ड छैटौं, पोर्चुगल सातौं,  स्विजरल्याण्ड आठौं, स्पेन नवौ र डेनमार्क दशौं स्थानमा छ।  

 

प्रकाशित: ४ आश्विन २०७५ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App