१ श्रावण २०७७ बिहीबार
खेल

प्रिमियर लिगः चेल्सी, सिटी, युनाइटेड र आर्सनल विजयी, हाजार्डको ह्याट्रिक

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन्। शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा कार्डिफ सिटीलाई ४–१ गोलले हरायो।

चेल्सीको जितमा इडेन हाजार्डले ह्याट्रिक गर्दा विलियन अर्को गोल थपे। कार्डिफका सोलेमाने बाम्बाले पहिलो हाफको १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा कार्डिफ पराजित हुन पुग्यो। हाजार्डले खेलको ३७, ४४ र ८०औं तथा विलियनले ८३ औं मिनेटमा गोल गरे। जितसँगै चेल्सी ५ खेलबाट १५ अंक जोडदै शीर्ष स्थानमा छ। 

त्यस्तै म्यानचेस्टर सिटीले पनि घरेलु मैदानमा फुलह्यामलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्यो। सिटीको जितमा दोस्रो मिनेटमा लिरोए साने, २१औं मिनेटमा डेभिड शिल्भा र ४७औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे। जितसँगै तेस्रो स्थानको सिटीले ५ खेलबाट १३ अंक जोडेको छ। 

राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि वाटफोर्डलाई २–१ ले हराएको छ। वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ३५ औं मिनेटमा रोमेलु लुकाकु र ३८ औं मिनेटमा क्रिस स्मेलीङले गोल गरे। पराजित वाटफोर्डका लागि ६५ औं मिनेटमा आन्द्रे ग्रेले एक गोल फर्काए।

दोस्रो हाफको इन्जुरी समयमा नेमान्जा माटिक दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिदा युनाइटेड केहिबेर १० खेलाडीमा सिमित भएको थियो। लिगमा पाँचौं चरणको खेलमा वाटफोर्डको यो पहिलो हार हो। यसअघि उसले टोटनह्यामलाई पराजित गरेको थियो। जितसँगै ५ खेलबाट ९ अंक जोडेको युनाइटेड आठौ स्थानमा छ। यस्तै आर्सनलले भने न्युकासल युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले स्तब्ध बनायो। आर्सनलका लागि खेलको ४९औं मिनेटमा ग्रानित जाका र ५८औं मिनेटमा मेसुट ओजिलले गोल गर्दा न्युकासलका कियारन क्लार्कले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्काए। जितसँगै ५ खेलबाट ९ अंक जोडेको आर्सनल लिगको ७ औं स्थानमा छ। 

प्रकाशित: ३१ भाद्र २०७५ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App