१५ चैत्र २०८० बिहीबार
खेल

अाज भुटानविरुद्ध खेल्दै नेपाल, नेपाललार्इ जित्नै पर्ने दबाब

शेख जमाल धनमुन्डी क्लबमा प्रशिक्षण गर्दै नेपाली खेलाडी। तस्बिर सौजन्य : एनएसजेएफ

काठमाडौं – नेपाली फुटबलका लागि बिहीबार भुटानविरुद्धको खेल विशेष महत्वपूर्ण छ। साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने समीकरण कठिन बनेको छ। त्यसैले पनि बिहीबारको खेल नेपालका लागि महत्वपूर्ण छ। टोलीका लागि भुटानविरुद्धको खेल जति महत्वपूर्ण छ, विराज महर्जनका लागि अझ विशेष हुनेछ, व्यक्तिगत रूपमा।

भुटानविरुद्धको खेलबाट रक्षक विराज महर्जन नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडीका रूपमा दर्ज हुनेछन्, इतिहासको पानामा। पाकिस्तानविरुद्धको खेलमा राजुकाजी शाक्यको कीर्तिमानसँग बराबरी गरेका विराजले भुटानविरुद्धको खेलसँगै आफ्नो नाममा नयाँ कीर्तिमान बनाउनेछन्। राष्ट्रिय टोलीबाट भुटानविरुद्ध विराजको ६९औं खेल हुनेछ। जुन नेपाली खेलाडीले राष्ट्रिय टोलीबाट खेलेको सबैभन्दा धेरै खेल हो। २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। पोखरामा सम्पन्न उक्त खेलमा उनी अञ्जन केसीको स्थानमा मैदान छिरेका थिए।

‘आफ्नो देशका लागि खेल्न पाउनु गर्वको कुरा हो। व्यक्तिगत रूपमा यो ठूलो उपलब्धि हो किनकि कसैले चाहेर यस्तो उपलब्धि हासिल गर्न सक्दैन। धेरैले क्षमता भए पनि पाउँदैनन्। ‘प्रत्येक खेलमा आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेर मैदान छिर्छु । इतिहासमा आफ्नो नाम लेखाउन पाउँदा मसँग खुसी व्यक्त गर्ने शब्द छैन । जबसम्म तनमनले साथ दिन्छ तबसम्म राष्ट्रको सेवामा समर्पित हुन्छु । तथापि अब नयाँ खेलाडीका लागि ठाउँ छाड्ने सोचमा छु,’ २०१५ बाट नेपालको कप्तानी सम्हालेका विराज अब बाँकी दुवै खेल जित्दै अन्तिम चारमा स्थान बनाउनेमा विश्वस्त देखिन्छन्, ‘पहिलो खेल हा-यो भन्दैमा हाम्रो यात्रा नै सकियो भन्ने होइन । हामीसँग अझै मौका छ। पाकिस्तानविरुद्ध भएका गल्ती सच्याएर दुवै खेल जित्ने लक्ष्यमा छौं।’

समूह ‘ए’ मा रहेको नेपाल र भुटानले पहिलो खेल गुमाएका कारण बिहीबार दुवै टोली जितका लागि प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ। रक्षापंक्तिले गरेको गल्तीका कारण पाकिस्तानविरुद्ध २–१ को नतिजा बेहोरेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन अबका दुवै खेल जित्नैपर्ने हुन्छ। भारतसँग २–० को नतिजा सुम्पिएपछि भुटान पनि ठीक नेपालको जस्तै अवस्थामा छ। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि जितको विकल्प नरहेको स्विकार्छन्।

‘हामीले पाकिस्तानसँग हार्छौं भन्ने सोचेको पनि थिएनौं। तर अन्तिम समयमा सम्हालिन नसक्दा पराजित भयौं । फुटबलमा ठूला टिम पनि पराजित भइरहेका हुन्छन्। तर बारम्बार गल्ती गर्ने छुट छैन। हामीले आफ्नै गल्तीमा गोल खाएका हौं। खेलको हिसाबले हामीले जितेका हौं,’ नेपालका प्रशिक्षक महर्जनले थपे, ‘हामी पाकिस्तानविरुद्धको गल्ती दोहो-याउने छैनौं। अब समूहचरण पार गर्न हामीलाई जितबाहेकको विकल्प छैन । कुनै पनि हालतमा हामीले भुटानमाथि जित निकाल्नुपर्छ । बंगलादेश र भुटानलाई जुनसुकै समयमा जित्न सक्ने क्षमता हाम्रो खेलाडीमा छ। त्यसैले हामी जित्नकै लागि खेल्नेछौं।’

भुटानले बंगलादेशविरुद्ध तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको थियो। इन्डियन सुपर लिग (आइएसएल) मा मिनरेवा पन्जाबबाट व्यावसायिक फुटबल खेलिरहेका भुटानका २२ वर्षे चेन्चो ग्याल्छेन नेपालका लागि टाउको दुखाइ बन्न सक्छन्। भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले समूहचरणको पहिलो खेलमा दुवै टोली पराजित भएका कारण बिहीबारको खेल खुला हुने बताए। नेपालसँग आफ्नो टोलीले नतिजा निकाल्ने विश्वास व्यक्त गरेका प्रशिक्षक मोर्गानले भने, ‘हामी नेपालविरुद्ध अंकका लागि खेल्दै छाैं।’ यसै प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बुधबार भारतले श्रीलंकालाई २–० ले पराजित गरेको छ।

‘हामीले पाकिस्तानसँग हार्छौं भन्ने सोचेको पनि थिएनौं। तर अन्तिम समयमा सम्हालिन नसक्दा पराजित भयौं । फुटबलमा ठूला टिम पनि पराजित भइरहेका हुन्छन्। तर बारम्बार गल्ती गर्ने छुट छैन।’

प्रकाशित: २१ भाद्र २०७५ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App