७ वैशाख २०८१ शुक्रबार
खेल

मेरो नेतृत्व क्यानको आवश्यकता हो : पारस

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको मंगलबार बताएका छन्। 

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिससँग सद्भावना दुतका रुपमा सम्झौता गर्ने क्रममा कप्तान खड्काले समर्थकसँगको अन्तरक्रियामा संघको नेतृत्वमा जाने आफ्नो चाहना रहेको र त्यो नेपाली क्रिकेटको आवश्यकता पनि भएको बताए।

‘क्रिकेट व्यवस्थापनमा जाने इच्छा छ । तर त्यसका लागि चुनावी प्रकृयाका विभिन्न चरण पार गर्नुपर्छ,’ लामो समयदेखि क्रिकेट टोलीको कप्तानी गरिरहेका खड्काले थपे, ‘यो मेरो चाहना पनि हो र नेपाली क्रिकेटको आवश्यकता पनि हो।’

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्यान्ड्सविरुद्ध नेपालले दुई खेलको शृंखला खेलेको थियो । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पराजित भए पनि दोस्रो खेलमा नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेदरल्यान्ड्सलाई अन्तिम बलमा पराजित गर्दा पारसले २००६ मा यु–१९ विश्वकपको प्लेट सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध जित्दाको झल्को आएको बताए । नेपाली क्रिकेटमा ‘विग बोस’ को छबी बनाएका खड्काले क्रिकेट संघको नेतृत्व ताकिरहे पनि राष्ट्रिय टोलीको कप्तानी तत्काल नछाड्ने संकेत गरेका छन्।

‘क्रिकेट टिम गेम हो । क्याप्टेन जो भए पनि टिमले जित्नुपर्छ भन्ने हो । कुन पोजिसनमा को भन्ने कुरा महत्वपूर्ण होइन,’ सम्झौता कार्यक्रमकै अवसरमा गरिएको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा नयाँ कप्तान निर्माणका लागि वातावरण बनाउनु पर्दैन भन्ने समर्थकको प्रश्नमा पारसले घुमाउरो जवाफ फर्काए, ‘पहिले राजु दाईले कप्तानी गर्नु भएको थियो । विनोद दास, शक्ति गौचन, मेहबुब आलम हुँदै अहिले मैले कप्तानी गरिरहेको छु । कप्तानी कसले गर्छ भन्ने महत्वपूर्ण होइन । जो जहाँ भए पनि टिमले जित्नुपर्छ । कुनै समय आउँछ, त्यतिबेला कसैले मेरो ठाँउ लिनेछ ।’

मंगलबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट लन्चसहित बधाई तथा शुभकामना लिएको नेपाली क्रिकेट टोली अहिले एसिया कप छनोट प्रतियोगिताको तयारीमा जुटेको छ । पराम्परागत रूपमा ब्याटिङमा समस्या भोग्दै आएको नेपाली टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदासम्म पनि समस्या समाधान गर्न सकेको छैन ।  एक्सपर्ट एजुकेसनसँग सद्भावना दुतका लागि ३ वर्षको सम्झैता गरेका खड्काले नेपाली टोलीमा यही नै राम्रो ब्याट्सम्याने हो भन्ने अवस्था नरहेको बताए । उनले भने, ‘जुन दिन जसले राम्रो ब्याटिङ गर्छ उही नै हाम्रो टोलीको राम्रो ब्याट्सम्यान हो । सधै सबैले राम्रो प्रदर्शन गर्न सक्दैन । २–३ तीन जनाले राम्रो प्रदर्शन गर्ने हो, अरुले थोरै–थोरै योगदान गर्ने हो।’

नेपाली क्रिकेट टोलीमा पारस सफल कप्तानका रुपमा स्थापित भए पनि परिस्थिति अनुकुल ब्याटिङ अर्डर परिवर्तन गर्न नसकेको भन्ने ओरोपमा उनी रक्षात्मक बने, ‘बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्रबाट नेपाली क्रिकेटको वास्तविकता नितान्त फरक छ । नेपाली खेलाडीहरुले जुन वातावरणमा खेलिरहेका छन्, त्यसका लागि हृदयदेखी धन्यवाद भन्नुपर्छ । क्रिकेटमा सानो फ्याक्टर महत्वपूर्ण हुन्छ । त्यसैले ब्याटिङ अर्डर परिवर्तन गर्नु नगर्नु भन्दा पनि एउटा योजनामा खेलिरहेका हुन्छौं । एउटा खेल खेल्यो परिवर्तन गर्याे, अर्को खेल खेल्यो परिवर्तन ग¥यो । यसले टिममा स्थिरता आउदैन । हामीले नतिजा ल्याएका छौं । आशा गरौं आगामी दिनमा स्थिरता आयो भने टिमलाई पनि फाइदा हुन्छ । सिस्टममा बसेर खेल्दा सजिलो पनि हुन्छ।’

तीन वर्षयता स्कुल प्रिमियर लिग र कजेल प्रिमियर लिग सञ्चालन गर्दै अएको एक्सपर्ट एजुकेशनले सोही अवसरमा शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीलाई १ लाख ५० हजार रूपैयाँ नगद सहयोग गर्याे । गौचनले एक्सपर्ट एडुकेशन ‘ग्रास रूट’ क्रिकेट विकासमा लागेको र नेपालीको वर्तमान परिस्थितिमा यो महत्वपूर्ण भएको बताए । उनले ९ वर्षदेखी एकेडेमीका लागि धेरै कर्पोरेट हाउससँग सहयोगका लागि अनुरोध गरे पनि कसैले वास्ता नगरेको बताए । एक्सपर्ट एजुकेशनका कार्यकारी प्रमुख अधिकृत सञ्जिव शर्माले ५० हजार रकमको खेलकुद पत्रकारिता अवार्डबाट प्रत्येक वर्ष एक जना खेल पत्रकारलाई सम्मान गर्ने घोषण गरे। 

 

प्रकाशित: ३० श्रावण २०७५ ००:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App