लन्डन – म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफूहरु आराम गर्ने मनस्थितीमा नभएको बताउँदै गत सिजन इङलिस प्रिमियर लिगको उपाधि जित्दाको लय जारी सिजन पनि कायम राख्न प्रतिबद्ध रहेको भन्दै प्रतिद्वन्द्वीहरुलाई सतर्क रहन सचेत पारेका छन्।
पेप ग्वार्डिओलाको टोलीले गत सिजन कीर्तिमानी १ सय अंकका साथ प्रिमियर लिगको उपाधि जितेको थियो । यस क्रममा सिटीले प्रिमियर लिग इतिहासमा सबै भन्दा धेरै जित दर्ता गुर्नका साथै सर्बाधिक गोल समेत गरेको थियो।
केभिन डी ब्रुयना, सर्जियो अग्विरो, लोरी साने, रहिम स्टर्लिङ र डेभिड सिल्भाको उपस्थितीमा सिटीले यस सिजन पनि उत्कृष्ट लयलाई निरन्तरता दिने अनुमान गरिएको छ । सिटीले आइतबार आर्सनलविरुद्ध खेल्दै प्रिमियर लिगको नयाँ सिजन सुरु गर्नेछ।
तर २००९ मा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको उपाधि रक्षा गरेयता कुनै पनि क्लबले लगातार दुई पटक इङल्यान्डमा लिग जित्न सकेका छैनन् । युनाइटेडले २००८ र २००९मा लगातार उपाधि जितेको थियो।
२०१२ मा प्रिमियर लिगको उपाधि जितेको सिटीले २०१३ मा उपाधि रक्षा गर्न सकेको थिएन । यद्धपी सिटीले २०१४ मा भने प्रिमियर लिगको उपाधि जितेको थियो । कोम्पनीले रोबेर्टो मान्चिनी र म्यानुयल पेलेग्रिनीको प्रशिक्षणमा उपाधि रक्षा गर्न असफल भए पनि ग्वार्डिओलाको प्रशिक्षणमा भने त्यो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
‘हामीले विगतमा पनि दुई पटक प्रिमियर लिगको उपाधि जितेका थियौं । तर स्पष्ट रणनीति नहुँदा हामी उपाधि रक्षा गर्न सफल भएनौं,’ कोम्पनीले भने, ‘तर टोली अहिले पनि उत्कृष्ट लयमा छ । हामीले विगतको गल्तीबाट पाठ सिकिसकेका छौं । त्यसैले यसपाली क्लबको एउटै उदेश्य भनेको प्रमियर लिगको उपाधि रक्षा गर्नु हो।’
‘इमान्दारीका साथ भन्नु पर्दा कुनै प्रतियोगिताको उपाधि जितेपछि अभ्यास दौरान लगावमा कमी आउछ ,’कोम्पनीले थपे , ‘सिटीले २०१२ र २०१४ मा उपाधि जिते पनि उपाधि रक्षा गर्न नसक्नुमा त्यो नै प्रमूख कारण हो।’
सिटीले गत आइतबार सम्पन्न कम्युनिटी शिल्डमा चेल्सीलाई २–० ले पराजित गर्दै आफूहरु उत्कृष्ट लयमा रहेको संकेत गरिसकेको छ।
प्रकाशित: २६ श्रावण २०७५ ०३:५९ शनिबार