१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रिमियर लिग खेल्न डिग्ने उत्सुक

लन्डन – बार्सिलोनाबाट २ करोड ५० लाख पाउन्डमा एभर्टन सरुवा भएका भनिएका फ्रान्सेली रक्षक लुकास डिग्नेले प्रिमियर लिग खेल्ने चुनौती स्विकार्नका लागि आफू आतुर रहेको बताएका छन्। 

फ्रान्सका लागि २१ अन्तर्राष्ट्रिय खेल खेलेका २५ वर्षे लेफ्ट ब्याक डिग्ने रूसमा हालै सम्पन्न विश्वकपका लागि फ्रान्सको टोलीमा नभए पनि उनलाई विकल्पका रूपमा तम्तयार राखिएको थियो । रूस भ्रमण गरेको डिडियर डेसच्याम्प्सको २३ सदस्यीय टोलीमा नभए पनि त्यहाँबाट कोही घाइते भए विकल्पका रूपमा डिग्नेलाई तयार रहन निर्देशन दिइएको थियो। 

एएस रोमामा लोनमा रहँदा प्रभावशाली प्रदर्शन गरे पनि पेरिस सेन्ट जर्मनबाट क्याम्प नोउ पुगेका डिग्नेले बार्सिलोनामा पहिलो रोजाइका लागि निक्कै संघर्ष गर्नुपरेको थियो । एभर्टनमा उनले भेट्रान रक्षक लेटन बेइन्सलाई स्थानान्तरण गर्ने अपेक्षा गरिएको छ।  

‘म प्रिमियर लिग खेल्ने विषयमा डराएको छैन, त्यसका लागि म उत्साहित छु,’ एभर्टन टिभीमा डिग्नेले भनेका छन्, ‘मेरा लागि यो नयाँ देश, नयाँ लिग र नयाँ मानिसहरूको अनुभव लिने एउटा नयाँ चुनौती र अवसर हो । प्रिमियर लिग विश्वकै सबभन्दा ठूलो र प्रतिष्ठित लिग हो । त्यहाँबाट खेल्न पाउनु मेरा लागि ठूलो कुरा हो।’ 

डिग्नेले पिएसजीबाट दुई फ्रेन्च लिग उपाधि तथा बार्सिलोनाबाट एक स्पेनिस ला लिगा उपाधि जितेका थिए । त्यसमा २०१४–१५ मा पिएसजीबाट घरेलु उपाधिमा गरेको क्लिन स्विप तथा २०१७–१८ मा जितेको घरेलु दोहोरो उपाधि पनि सामेल छ । उनले अब करियरका उपाधिहरूमा प्रिमियर लिग पनि थप्ने योजना रहेको बताए।

प्रिमियर लिगमा विश्वका सर्वोत्कृष्ट खेलाडीमध्ये केहीसँग खेल्न पाउने विषयले आफूलाई उत्साहित पारेको उनको भनाइ थियो । ‘मैले रोममा निक्कै राम्रो फुटबल खेलेँ । बार्सिलोनामा पनि मैले राम्रो खेलें । त्यहाँबाट मैले आफूलाई धेरै सुधार गरेको छु।

रोमा र बार्सिलोनाबाट खेल्दा मैले विश्वका धेरै उत्कृष्ट खेलाडीसँग र उनीहरुका विरुद्ध खेल्ने मौका पाएँ,’ डिग्नेले भने, ‘उत्कृष्ट खेलाडीसँग खेल्दा आफूलाई सुधार्ने मौका पाइन्छ । यो क्रमलाई म प्रिमियर लिगमा पनि निरन्तरता दिनेछु।’

 

प्रकाशित: १७ श्रावण २०७५ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App