७ वैशाख २०८१ शुक्रबार
खेल

विदेशमा सफलताका लागि आतुर भारत

लन्डन – विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने गरेको छ। 

विराट कोहलीको कप्तानीमा रहेको भारत बुधबारबाट सुरु हुने इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा सुखद नतिजा ल्याउदै आफूमाथि  लाग्दै आएको आरोप गलत साबित गर्न आतुर छ । भारतले पछिल्ला ५ वर्षमा एसियाभन्दा बाहिर सम्पन्न  ६ मध्ये १ मात्र टेस्ट शृंखला जितेको छ।

इङ्ल्यान्डमा भारतको टेस्ट इतिहास सम्झन लायक छैन । हालसम्म भएका ५७ खेलमध्ये भारतले ६ मात्र जित हात पारेको छ । भारतले १९७१, १९८६ र २००७मा गरि इङल्यान्डमा तीन पटक टेस्ट शृंखला जितेको छ ।

इङल्यान्डका तीब्र गतीका बलर स्टुवाट ब्रोड र जेम्स एन्डरसन हालै मात्र चोटबाट मुक्त हुँदै टोलीमा फर्किएकाले उनीहरु बुधबारबाट सुरु हुने पहिलो टेस्ट खेल्नेमा दुबिधा कायम छ । इङल्यान्ड टोलीमा ब्रोड र एन्डरसनजस्ता अनुभवी बलरको अनुपस्थिती भए भारत त्यसको फाइदा उठाउने लक्ष्यमा हुनेछ।

यता चेटका कारण भारतका तीब्र गतीका बलर भुवनेश्वर कुमार र जसप्रित बुमराले पनि पहिलो टेस्टमा खेल्ने निश्चित छैन । भुवनेश्वर र जरप्रितको  अनुपस्थितिमा भारतको तीब्र गतिको बलिङ मोर्चा मोहम्मद शामी, इशान्त शर्मा र उमेश  यादवले सम्हाल्ने सम्भावना छ। भारतविरुद्धको पहिलो टेस्ट इङल्यान्डका लागि १ हजाराैं टेस्ट खेल हुनेछ। 

‘भारतको टोली सन्तुलित छ । उनीहरुसँग उत्कृष्ट स्पिनर र तीब्र गतीका बलरहरु छन्, जो हाम्रा लागि खतरा बन्न सक्छन्,’ इङ्ल्यान्डका पूर्व कप्तान तथा ओपनर एलेस्टर कुकले भने, ‘पछिल्लो दश वर्ष म उनीहरुसँग खेल्दै आएको छु। भारतीय टोलीमा धेरै विकल्प छन्।’

पछिल्लो समय उत्कृष्ट ब्याट्सम्यानका साथै सफल कप्तानको छवी बनाएका कोहली पनि इङल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उच्च लयलाई निरन्तरता दिन चाहन्छन् । यसअघि २०१४मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलाका पाँच खेलमा कोहलीले १ सय ३४ रन मात्र जोड्न सकेका थिए । उक्त शृंखला इङ्ल्यान्डले ३–१ ले जितेको थियो।

यता दुई साता अघि सम्पन्न एक दिवसीय खेलमा भारतविरुद्ध दुई शतक प्रहार गर्दै आफू लयमा फर्किएको संकेत गरेका इङ्ल्यान्डका कप्तान जो रूट टेस्ट खेलमा त्यही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । तर दुवै टोलीका ओपनिङ ब्याटस्म्यानहरु भने पछिल्लो समय आफ्नो स्वभाविक लय भेट्टाउन संघर्ष गरिरहेका छन्।

पाकिस्तानविरुद्ध १–१ को बराबरीमा सम्पन्न टेस्टमा कुकले सन्तोषजनक प्रदर्शन गरे पनि अर्का ओपनर केनोट जेनिङस्ले भने सोचे अनुरुप प्रदर्शन गर्न सकेका थिएनन् । त्यस्तै भारतका ओपनर शिखर धवन र चेतेश्वर पुजारा पनि स्वभाविक लयका लागि संघर्षरत छन् ।

रविचन्द्र आश्विन , रविन्द्र जडेजा र कुलदीप यावद सम्मिलत भारतको स्पिन पक्ष बलियो मानिएको छ । तर इङल्यान्डले भने एडिल रसिदलाई एक्लो स्पिनरको रुपमा खेलाउने भएको छ ।

 

प्रकाशित: १६ श्रावण २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App