१६ चैत्र २०८० शुक्रबार
खेल

ओजिलको रक्षा गर्न नसकेको स्वीकार

बर्लिन – जर्मन फुटबल संघ (डिएफबी)का प्रमुखले मेसुट ओजिलमाथि रंगभेदी व्यवहार गरेको आरोप अस्वीकार गर्दै राष्ट्रिय टोलीका मिडफिल्डरको रक्षाका लागि भने पर्याप्त प्रभावकारी काम गर्न नसकेको स्विकारेका छन्। 

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्ने क्रममा आइतबार चार पेजको विज्ञप्ति सार्वजनिक गर्दै ओजिलले डिएफबीका प्रमुख रेनहार्ड ग्रिन्डेलप्रति आरोप लगाएका थिए । ‘ग्रिन्डेल र उनका समर्थकहरूका लागि हामीले जित्दा म जर्मन हुने तर हामीले हार्दा म आप्रवासी भएँ,’ टर्कीस मूलका ओजिलले आइतबार संन्यास घोषणा गर्दाको विज्ञप्तिमा लेखेका थिए । ओजिलको संन्यास प्रकरणपछि जर्मनीमा रंगभेदको चर्चा चुलिएको छ । तर ग्रिन्डेलले भने आफूमाथि लागेको रंगभेदको आरोप स्वीकार गरेका छैनन्। 

‘व्यक्तिगत रूपमा लागेको यो आरोपले मलाई दुःखी बनाएको छ । डिएफबी र जर्मन फुटबलका लागि स्वयम्सेवा गरिरहेका मेरा सहकर्मीहरूलाई पनि रंगभेदको आरोप लागेकोमा मलाई दुःख लागेको छ,’ ग्रिन्डेलले भने, ‘संघ र व्यक्तिगत तर्फबाट म यो आरोपको औपचारिक रूपमा खण्डन गर्न चाहन्छु।’

तर ग्रिन्डेलले टर्किस राष्ट्रपति रेसेप टायिप इर्डोगानसँग ओजिलको तस्बिरको विषयमा उत्पन्न विवादमा सकारात्मक हस्तक्षेप नगर्नु आफ्नो कमजोरी भएको स्विकारेका छन् । त्यही तस्बिर सार्वजनिक भएपछि धेरैले जर्मन फुटबलप्रति ओजिलको प्रतिबद्धताबारे प्रश्न उठाएका थिए। 

ग्रिन्डेलले टर्किस राष्ट्रपति रेसेप टायिप इर्डोगानसँग ओजिलको तस्बिरको विषयमा उत्पन्न विवादमा सकारात्मक हस्तक्षेप नगर्नु आफ्नो कमजोरी भएको स्विकारेका छन्।

‘व्यक्तिगत रूपमा म र संस्थागत रूपमा डिएफएका लागि रंगभेद भन्ने कुरा कुनै पनि हदमा सह्य छैन । हामी रंगभेदी व्यवहार कुनै पनि हालतमा स्विकार गर्न सक्दैनौं । जातीय रूपमा कसैमाथिको विभेद स्विकार्य हुनै सक्दैन,’ ग्रिन्डेलले भने, ‘जेरोम बोएटिङ, मेसुट ओजिल वा अरू कोही खेलाडीका हकमा पनि त्यस्तो व्यवहार हामी कल्पना पनि गर्न सक्दैनौं।’

२०१६ मा एक जर्मन राजनीतिक नेता एलेक्जेन्डर गौलान्डले घानाका पिता तथा जर्मन आमाबाट बर्लिनमा जन्मिएका राष्ट्रिय टोलीका रक्षक बोएटिङबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘मानिसहरूले उनलाई एउटा फुटबलरका रूपमा राम्रो देख्छन्, तर कसैले पनि उनलाई छिमेकीका रूपमा चाहँदैनन्,’ गौलान्डले दिएको यो अभिव्यक्तिका कारण दुई वर्षअघि पनि जर्मनीमा आप्रवासीको अवस्थाबारे चर्चा चलेको थियो।

दुई वर्षअघिको घटनामाथि समेत सम्बोधन गर्दै ग्रिन्डेलले वर्तमान विवादलाई सामाजिक एकताको अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए । ‘हामीले सबभन्दा पहिला सामाजिक एकताको दिशामा काम थालिहाल्नुपर्छ । यो विवादले हामीलाई त्यो बाटोमा काम थाल्ने अवसर दिएको छ,’ उनले भने। 

प्रकाशित: ११ श्रावण २०७५ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App