७ वैशाख २०८१ शुक्रबार
खेल

टुँडिखेलबारे सेनाले माग्यो सुझाव

इलाम सदरमुकामको ठूलो टुँडिखेल।    तस्बिर : भीम/नागरिक

इलाम – सदरमुकामको ठूलो टुँडिखेल नेपाली सेनाबाट अन्य निकायको नाममा हस्तान्तरण गर्न उपयुक्त छ या छैन भन्नेबारे सेनाले नै सुझाव लिन थालेको छ। सेनाले जिल्ला प्रशासन कार्यालय बिहीबारलाई पठाएको पत्रमा जिल्लाका सूर्याेदय नगरपालिकाबाहेक सबै स्थानीय तह र सरोकारवाला कार्यालयलाई ‘कार्यार्थ’ लेखेर राय मागिएको हो।

ठूलो टुँडिखेल नेपाली सेनाको नाममा रहँदा स्थानीय सर्वसाधारणले खेलकुदमा सहजै पहुँच पाउन नसकेको समाचार नागरिकन्युजमा केही दिनअघि सार्वजनिक भएको थियो। सेनाले अहिले यसै विषयमा सरोकारवालाको राय संकलन थालेको हो। गढीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणले जिल्ला प्रशासनका नाममा ‘राय उपलब्ध गराइदिन हुन’ पत्र लेखेर जिल्ला समन्वय समितिसहित इलाम, माई र देउमाई नगरपालिका तथा रोङ, माङ्सेबुङ, फाकफोकथुम, चुलाचुली, सन्दकपुर र माइजोगमाई गाउँपालिकालाई ‘कार्यार्थ’ पत्राचार गरेको छ। 

जिल्ला प्रहरी, सशस्त्र प्रहरीको श्रीअन्तु गुल्म, अनुसन्धान कार्यालय, नापी, वन, भू–संरक्षण, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)लाई समेत पत्र लेखेर राय मागिएको छ। 

२५ रोपनी ८ आनामा रहेको टुँडिखेल अहिले नेपाली सेनाको नाममा रहेको र सेनाले नै संरक्षण गरिरहेको भन्दै पत्रमा अहिले पनि अराजनीतिक गतिविधि तथा खेलकुद सञ्चालनको स्वीकृति दिइरहेको जनाइएको छ। ‘उक्त ग्राउन्ड (टुँडिखेल) नेपाली सेनाको नामबाट अन्य निकायको नाममा हस्तान्तरण गर्दा भविष्यमा सो इलाकामा निर्माण हुने विभिन्न संरचना तथा भवनका कारण ग्राउन्डको स्तरोन्नति नभई स्वरूप परिवर्तन हुने, टुँडिखेलको सीमासँग जोडिएका सिभिलियन व्यक्तिले अतिक्रमण गर्न सक्ने, विपदका बेला खुला चौरमा राखेर उद्धार कार्य गर्नसमेत समस्या हुन जाने भएकाले नेपाली सेनाको नाममा रहेको सो जग्गा अन्य निकायलाई हस्तान्तरण गर्न उपयुक्त छ वा छैन, यस गणलाई राय उपलब्ध गराइदिन हुन अनुरोध गरिन्छ,’ गणपति असिमदीप गुरुङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

ठूलो टुँडिखेलमा पूर्वीपहाडकै ठूलो धनराशिको फुटबल प्रतियोगिता ‘अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप’ हरेक वर्ष आयोजना गरिन्छ। विभिन्न संघ–संस्थाले बेला–बेला अन्य खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने गरेका छन्। तर, सर्वसाधारणले नै निर्माण गरेको ऐतिहासिक टुँडिखेलमा फुटबलसहितका खेल अभ्यास गर्न सहज नभएको, हरेक प्रतियोगिता आयोजना गर्न सेनाको अनुमति लिनुपर्दा झन्झट हुने गरेको जस्ता गुनासो आइरहेका छन्। टुँडिखेललाई स्थानीय तहमा ल्याउनुपर्ने आवाज पनि उठिरहेपछि सेनाले सुझाव संकलन थालेको हो। 

नेपाली सेनाको नाममा रहँदा टुँडिखेलमा दाताको आर्थिक सहयोगसमेत प्रयोग गर्न नसकेको, प्रतियोगिता आयोजना गर्न स्थायी प्यारापिट बनाउन नपाएको, मैदान भत्किएका बेला मर्मत गर्न नसकेकोजस्तो गुनासो खेलप्रेमीको छ। पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको सदरमुकामको ठूलो टुँडिखेल स्थानीय तहअन्तर्गत ल्याएर सेनालाई वैकल्पिक मैदान उपलब्ध गराउने प्रस्ताव पनि जिल्लाका औपचारिक कार्यक्रमहरूमा आउने गरेको छ।  

इतिहासदेखि सर्वसाधारणकै सक्रियतामा अहिलेको अवस्थामा आएको टुँडिखेलमा खेलकुद आयोजना गर्न केही वर्षअघिसम्म कुनै बाधा–अवरोध नभएपनि सशस्त्र द्वन्द्वका बेला सेनाले सर्वसाधारणलाई टुँडिखेलमा भेला हुन र खेलकुद आयोजना गर्न नियन्त्रण गरेयता यो टुँडिखेल सर्वसाधारणको पहुँचभन्दा टाढा भएको गुनासो खेलप्रेमीको छ।

प्रकाशित: १० श्रावण २०७५ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App