८ वैशाख २०८१ शनिबार
खेल

बेल्जियमलाई पहिलो पल्ट विश्वकपमा तेश्रो स्थान

काठमाडाैं - बेल्जियमले पहिलो पटक विश्वकप प्रतियोगितामा तेश्रो स्थान हात पारेको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न खेलमा इंग्ल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले विश्वकपको इतिहासमा पहिलो पटक तेश्रो स्थान हात पार्न सफल भएको हो।

यसअघी सन् १९८६ को विश्वकपमा फाइनलमा स्थान बनाउनबाट चुकेको बेल्जियमले तेश्रो स्थानकालागि भएको खेलमा समेत फ्रान्ससँग ४-२ ले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो। तर यसपटकको विश्वकपमा फाइनलमा स्थान बनाउन चुकेपनि बेल्जियमले इतिहास भने रचेको छ । जारी प्रतियोगितामा इंग्ल्याण्डलाई दोश्रो पटक पराजित गरेको बेल्जियमले यसअघी समुह चरण अन्तर्गतको खेलमा इंग्ल्याण्डलाई ८२ बर्षपछि पराजित गरेको थियो। 

पहिलो हाफको चौथौ मिनेटमानै थोमस म्युनियरको गोल मार्फत अग्रता बनाएको बेल्जियमले इंग्ल्याण्ड विरुद्ध सुरुवातदेखीनै उत्कृष्ट प्रदर्शन गर्दै दबाबमा राख्न सफल भएको थियो । फ्रान्ससँगको खेल पहेँलो कार्डका कारण गुमाएका म्युनियरले आजको खेलमा भने आफ्नो टोलीलाई महत्वपूर्ण जित दिलाउन उत्कृष्ट भूमिका खेले। बेल्जियमकालागि दोश्रो गोल भने खेलको ८२ औं मिनेटमा भएको थियो । केभिन डि व्रोयनाको पासमा कप्तान इडेन हाजार्डले मध्य डिबक्सबाट प्रहार गरेको बल गोल हुन पुग्दा खेलमा फर्कन संघर्षरत इंग्ल्याण्डको तेश्रो स्थान हात पार्ने सपना लगभग समाप्त भएको थियो।  

यसअघी खेलको १२ औं मिनेटमा केभिन डी व्रोयनाले १२ यार्ड टाढाबाट प्रहार गरेको बल इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले एक हातले बचाउँदा पहिलो हाफमै अग्रता दोब्बर पार्ने अवसर बेल्जियमले गुमाएको थियो । पहिलो हाफमा अधिकांश समय बल आफ्नो पक्षमा राख्दै गोलका लागि थुप्रै अवसरहरु सिर्जना गरेको बेल्जियमले दोश्रो गोल भने गर्न असफल रह्यो। 

दोश्रो हाफमा पहिलो हाफको तुलनामा राम्रो खेल प्रदर्शन गरेको इंग्ल्याण्ड खेलमा फर्कन असफल रहँदा १९९० मा समेत चौथो स्थानमा चित्त बुझाएको इंग्ल्याण्ड फेरिपनि चौथो स्थानमै सिमित भयो। दोश्रो हाफको ७० औं मिनेटमा इंग्लायण्डले खेल बराबरीमा पुर्याउने अवसर पाएको थियो । इंग्ल्याण्डका इरिक डायरले बेल्जियमका गोलरक्षकलाई विट गर्दै प्रहार गरेको बललाई टोबी एल्डरवेरेल्डले गोल लाइनबाट बचाएका थिए। यस्तै ८० औं मिनेटमा समेत बेल्जियमले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो। बेल्जियमका म्युनियरले प्रहार गरेको बललाई इंग्ल्याण्डका गोलरक्षकले कठिन बचाव गरेका थिए। तर इंग्ल्याण्डले त्यसलगत्तै ८२ औं मिनेटमा दोश्रो गोल खान पुग्यो र तेश्रो स्थान हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गर्नबाट फेरिपनि एकपटक चुक्न पुग्यो। 

विश्वकपको उपाधीकालागि भने आइतबार खेल हँदैछ । नेपाली समयअनुसार पौने ९ बजे हुने खेलमा फ्रान्स र क्रोएसियाबीच प्रतिष्पर्धा हुँनेछ। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App