७ वैशाख २०८१ शुक्रबार
खेल

फाइनल पुग्ने दोस्रो टिम कुन? इङल्यान्ड कि क्रोएसिया (भिडियोसहित)

मस्को – विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षाैदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा छोट्याउने लक्ष्यमा मैदान प्रवेश गर्नेछन्।यी दुई बीचको विजेताले उपाधिका लागि फाइनलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ। बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगिसकेको छ।

इङ्ल्यान्डले १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर अन्तिम ४ मा पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि १९६६ पछि पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप इङ्ल्यान्डका लागि सम्झनलायक बनेको छैन।

४ वर्षअघि ब्राजिलमा टोली समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो । क्रोएसिया पनि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो।

नागरिक नेटवर्कले तयार पारेको यो भिडियोको दोस्रो खण्डमा इंग्ल्याण्ड र क्रोएसियाबीचको बिश्लेषण गरिएको छ ।

फ्रान्स १९९८ मा टोलीको सेमिफाइनल यात्रालाई क्रोएसियाभित्र अनपेक्षित सफलताका रूपमा लिइए पनि फुटबल विश्लेषकहरूले भने मिरोस्लाभ ब्लाजेभिचको टोलीले आफूलाई विश्व फुटबलको उदीयमान शक्तिका रूपमा उभ्याएको प्रतिक्रिया दिएका थिए । त्यस्तै ग्यारी लिनेकर र पाउल ग्यास्कोइन सम्मिलित इङ्ल्यान्डले २८ वर्षअघि इटाली यात्रा सेमिफाइनलमा टुंग्याउँदा अभागी टोलीको उपमा पाएको थियो।

तर रूस विश्वकपमा दुवै टोली विगतको प्रदर्शनमा केन्द्रित हुनु भन्दा पनि जारी प्रतियोगितामा भेट्टाएको लयलाई उपाधि यात्रासम्म निरन्तरता दिने लक्ष्यमा छन् । ‘१९९८ मा के भएको थियो भनेर हामी आफैंलाई थप दबाबमा पार्न चाहँदैनांै,’ क्रोएसियाका मिडफिल्डर इभान राकेटिचले भने, ‘त्यति बेलाको टोलीमा भएका सबै खेलाडी प्रभावशाली थिए तर हामी छुट्टै इतिहास रच्न चाहन्छाैं । त्यसका लागि हामीले जारी प्रतियोगितामा गरिरहेको उत्कृष्ट प्रदर्शनले निरन्तरता पाउन आवश्यक छ।’

यता सधैं प्रतियोगिताको दाबेदारका रूपमा लिइए पनि १९६६ पछि विश्वकपको उपाधि जित्न नसकेको इङ्ल्यान्ड त्यो छविलाई प्रमाणित गर्न चाहन्छ । ‘हामी विगतमा के भयो भन्दा पनि जारी प्रतियोगिताको लयलाई निरन्तरता दिँदै उपाधि लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छौं,’ इङ्ल्यान्डका रक्षक एस्ले योङले भने।

इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई निराश पार्र्दै विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमा भोग्दै आएको हारको शृंखलामा पूर्णविराम लगाएको थियो । त्यस क्रममा गोलकिपर जोर्डन पिकफर्डको प्रदर्शन प्रशंसनीय रह्यो । शनिबार स्विडेनलाई २–० ले निराश पार्दै २८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्दा पनि पिकफर्डको प्रदर्शन उच्च थियो।

पहिलो खेलमा ट्युनिसियालाई २–१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६–१ को प्रभाजशाली जित हात पारेको थियो । निक्कै रणनीतिक बनेको समूहचरणको अन्तिम खेलमा बेल्जिममसँग पराजित इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बिया र क्वार्टरफाइनलमा स्विडेनलाई निराश पारेको हो।

इङ्ल्यान्ड जारी प्रतियोगितामा सेट पिसमा गोल निकाल्ने अब्बल टोलीका रूपमा देखा परेको छ । टोलीले अन्तिम ४ सम्मको यात्रामा ११ गोल गर्दा ८ गोल सेट पिसमा भएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ दोस्रो स्थानमा छन्।

यता समूहचरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनामाथि सहज जित हात पारेको थियो । अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेको थियो । समूहचरणमा सहज जित हात पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको यात्रा समाप्त पार्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो । अन्तिम १६ र क्वार्टरफाइन दुवैमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको थियो । जहाँ गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन प्रशंसनीय थियो।

जारी प्रतियोगितामा क्रोएसियाका कप्तान लुका मोडरिचले पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । मोडरिचले ५ मध्ये ३ खेलमा म्यान अफ दी म्याचको अवार्ड जितिसकेका छन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले टोलीले अन्तिम ४ सम्मको यात्रा पक्का गर्न धेरै संघर्ष गरे पनि इङ्ल्यान्डको उपाधिलक्ष्यमा तगारो बन्नका लागि शक्ति जोगाएर राखेको बताए।

‘पक्कै पनि इङ्ल्यान्डविरुद्धको खेलका लागि हामीसँग पर्याप्त शक्ति बाँकी छ,’ डालिचले भने, ‘यो निकै प्रतिस्पर्धात्क खेल हुनेछ । तर हामी इङ्ल्यान्डको चुनौतीको पन्छाउनेमा विश्वस्त छौं।’

प्रकाशित: २७ असार २०७५ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App