coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फ्रान्स–बेल्जियम सेमिफाइनल : उत्कृष्ट अग्रपंक्तिबीचको भिडन्त

सेन्ट पिट्सबर्ग (एपी) – प्रतियोगिताकै उत्कृष्ट अग्रपंक्ति भएका दुई टोली बेल्जियम र फ्रान्स मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा आमने–सामने हुँदा ‘गोलको उत्सव’ हुने अनुमान गरिएको छ।

दुवै टोलीमा युरोपका शीर्ष लिग खेल्ने उत्कृष्ट खेलाडीको बाहुल्य छ। फ्रान्सेली टोलीमा किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र ओलिभर जिरौडको उपस्थिति छ भने बेल्जियम टोलीमा केभिन डी ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्डजस्ता उत्कृष्ट खेलाडीको उपस्थिति छ।

४ गोल गरेका लुकाकु जारी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडीसूचीको दोस्रो स्थानमा छन्। त्यस्तै फ्रान्सका एमबाप्पेले ३ गोल गरिसकेका छन्।

यी दुई टोली पछिल्लो १९८६ को विश्वकपमा भेटेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले ४–२ ले बाजी मारेको थियो । त्यसपछि फ्रान्स र बेल्जियमबीच प्रमुख प्रतियोगितामा भेट नभए पनि आठ मैत्रीपूर्ण भिडन्त भइसकेका छन्। पछिल्लो पटक २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो।

१९ वर्षे स्ट्राइकर किलियन एमबाप्पेको नेतृत्वमा रहेको अग्रपंक्ति र कम अनुभवी बेन्जामिन पाभर्ड र लुकास हर्नान्डेजको रक्षापंक्तिको जोडीले प्रतियोगिता अवधिभरै जुझारु प्रदर्शन गर्दै २००६ पछि पहिलो पटक अन्तिम ४ मा स्थान पक्का गरेको हो।

‘हामी कसैसँग डराउँदैनाैं,’ पाभर्डले भने, ‘हामी प्रतियोगिताको पहिलो खेलबाटै उच्च मनोबलका साथ मैदान उत्रिरहेका छांै र हामीलाई हाम्रो क्षमता थाहा छ।’

फ्रान्सलाई १९९८ को विश्वकप र २००० को युरोपियन च्याम्पियनसिपको उपाधि जिताउँदा टोलीका कप्तान रहेका डिडियर डेसच्याम्पले अहिले टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।

‘डेसच्याम्पले हाम्रो मनोबल बढाएका छन्,’ उनले भने, ‘हामी उनको प्रशिक्षणमा जुनसुकै प्रतिद्वन्द्वीको सामना गर्न पनि तयार छाैं।’

डेसच्याम्पले पाभर्डलाई दायाँ र हर्नान्डेजलाई बायाँ भागमा खेलाउने जोखिमपूर्ण निर्णय लिएका लिए । पाभर्ड र हर्नान्डेजले एकआपसमा मात्र २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। तर उनीहरूले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

यता २०१६ अगस्टमा बेल्जियम टोलीको प्रशिक्षण सम्हाल्दा रोबेर्टो मार्टिनेजले कुनै एक खेलाडीको प्रदर्शनमा भन्दा पनि टोलीको भावनाअनुसार खेल्ने रणनीति अपनाए। एभर्टनबाट बर्खास्तगीमा परेलगत्तै उनले बेल्जियम टोलीको प्रशिक्षण सम्हालेका थिए।

घरेलु मैदानमा स्पेनसँगको २–० को हारसँगै उनको प्रशिक्षण यात्रा सुरु भएकाो थियो। तर त्यसपछि भने बेल्जियम २३ खेलमा अपराजित रहँदै आएको छ । यस क्रममा टोलीले ७८ गोल गरिसकेको छ । २३ खेलमध्ये एक खेल मात्र गोलरहित बराबरीमा टुंगिएको छ। फ्रान्सका पूर्वस्ट्राइकर थियरी हेनरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको बेल्जियमले रूस विश्वकपका पाँच खेलमा १४ गोल गरिसकेको छ।

अन्तिम १६ मा जापानसँग २–० ले पछि परेको स्थितिमा मार्टिनेजले दुई विंगरको स्थानमा दुई मिडफिल्डरलाई मैदान प्रवेश गराएका थिए। बेल्जियमले जापानको चुनौती अन्ततः ३–२ ले पन्छाएको थियो।

मंगलबार हुने खेलमा फ्रान्सका गोलकिपर ह्युगो लोरिस र बेल्जियमका गोलकिपर थियाबाउट कोर्टियोस दुवै व्यस्त हुने अनुमान गरिएको छ। यद्यपि पछिल्लो समय केही गल्ती गरेको भन्दै लोरिसको भने आलोचना हुँदै आएको छ।

अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा लोरिसले लामो दूरीबाट आएको बलको दिशा सही अनुमान लगाउन चुकेपछि लोरिसको आलोचना भएको थियो। भाग्यवश उक्त बल क्रसबारमा लागेर फर्किएको थियो । तर त्यसपछिका खेलमा भने उनले आफ्नो प्रदर्शन सुधार्दै आएका छन्।

त्यस्तै कोर्टियोसले ब्राजिलविरुद्धको खेलमा उल्ल्ेख्य प्रदर्शन गर्दै टोलीलाई अन्तिम ४ मा प्रवेश गराएका थिए । यता रक्षक थोमस म्युनर दोस्रो पहेंलो कार्डका कारण फ्रान्सविरुद्धको खेलमा उपलब्ध नभए पनि रक्षक भिसेन्ट कोम्पनी र यान भेर्टोन्घन र मिडफिल्डर मारौने फेलानीको उपस्थिति बेल्जियम टोलीका लागि बलियो पक्ष बन्न सक्छ। म्युनरको अनुपस्थितिमा ३–५–२ को रणनीति अपनाउने गरिएको छ।

फ्रान्सका स्ट्राइकर ओलिभर जिरौडले जारी प्रतियोगितामा कोर्टियोसभन्दा लोरिस अब्बल भएको बताए।

‘दुवै जना विश्वकै उत्कृष्ट गोलकिपर हुन्,’ जिरौडले भने, ‘ तर जारी प्रतियोगितामा भने लोसिर अब्बल छन्।’

प्रकाशित: २६ असार २०७५ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App