८ वैशाख २०८१ शनिबार
खेल

बर्गबाट गोलको आशा

सेन्ट पिट्सबर्ग – आफूले खेलेका प्रायः सबै प्रतियोगितामा गोल गर्दै आएका स्विडेनका फरवार्ड मार्कुस बर्ग रूसमा जारी विश्वकपमा भने असफल भएका छन्।

३१ वर्षे बर्गले ४ खेलमा एक गोल पनि गरेका छैनन् । व्यावसायिक खेलमा गोल गर्न माहिर बर्गले स्विट्जरल्यान्डविरुद्ध गोल गर्ने केही राम्रा मौकालाई सदुपयोग गर्न सकेनन्।

स्विट्जरल्यान्डलाई १–० ले हराउँदै स्विडेन १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल प्रवेश गरेको हो । बर्गले शनिबार इङ्ल्यान्डविरुद्ध भने गोलको खडेरी तोड्ने आशा गरेका छन् । इङ्ल्यान्डले मंगलबार कोलम्बियालाई टाइब्रेकरमा हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो। 

‘टोलीमा बर्गको योगदान छ । गोल नहुनु समयको अनुकूलता हो,’ स्विडेनका प्रशिक्षक जाने एन्डरसनले भने, ‘उनले अन्तिम १६ मा उत्कृष्ट प्रदर्शन गरेका थिए।’

विश्वकप छनोट प्रतियोगितामा ८ गोल गरेका बर्ग ज्लाटान इब्राहिमोभिचको छायाँबाट माथि उठ्ने अनुमान गरिएको थियो । तर, विश्वकपका ४ खेल सकिसक्दा बर्गले एउटै गोल गर्न सकेका छैनन् । २ वर्ष अघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियसिपमा पनि बर्गको यस्तै हालत भएको थियो।

स्विट्रजरल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक खेलमा स्विडेनका फरवार्डले गोल गर्ने केही राम्रा अवसर खेर फालेका थिए । बर्गले गोलका लागि गरेका प्रयास पनि सफल भएनन् । राष्ट्रिय टोलीबाट ६१ खेल खेलका बर्गले १८ गोल गरेका छन्।

युनाइटेड अरब इमिरेट्सको क्लब अल ऐनबाट गत सिजन २१ खेलमा २५ गोल गरेका बर्गकै प्रेरणामा टोलीले लिग उपाधि जितेको थियो । क्लबमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनले रूसमा गोलको खडेरी तोड्ने आशा गरेका छन्।

बर्गले आफूलाई सिद्ध गर्ने क्रममा तुलनात्मक रूपमा कमजोर मानिएको लक्जेम्बर्गविरुद्ध ४ गोल गरेका थिए । जुन खेलमा स्विडेन ८–० ले विजयी भएको थियो। 

 

प्रकाशित: २३ असार २०७५ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App