सामरा – दायाँ हिपको चोटका कारण दुई खेल गुमाएका ब्राजिलका डानिलो मेक्सिकोविरुद्धको खेलमा मैदान उत्रिने भएका छन्।
टोलीका डाक्टर रोड्रिगो लासमारले शनिबार म्यानचेस्टर सिटीबाट खेल्दै आएका डानिलोले अन्तिम १६ खेलमा सोमबार मेक्सिकोविरुद्ध रक्षकको भूमिकामा मैदान उत्रिने बताएका हुन्।
मांसपेशीको चोटका कारण सर्बियाविरुद्धको खेलमा सुरुआतमै घाइते भएर मैदानबाट निक्लिएका मार्सेलोको टोलीमा पुनरागमन भने अनिश्चित छ । सर्बियाविरुद्धको खेलमा उनको स्थानमा फिलिप लुइज मैदान प्रवेश गरेका थिए।
स्पेनिस क्लब रियाल मड्रिडका रक्षक मार्सेलोले सामाजिक सञ्जालमा सबैप्रति आभार प्रकट गरेका छन् । साथै उनले उनको चोट गम्भीर नभएको र छिट्टै खेलमा फर्किने बताएका छन्।
टोलीका डाक्टर लासमारले आइतबारको अभ्यासपछि मात्र मूल्याङ्कन हुने बताए । उनले भने, ‘छिट्टै खेलमा फर्किनेछन् भन्नेमा हामी आशावादीमा छौं ।’ युभेन्ट्सबाट खेल्दै आएका डगलस कोस्ट दायाँ पिँडुलाको चोटका कारण मेक्सिकोविरुद्धको खेलमा मैदान उत्रिने छैनन्।
प्रकाशित: १७ असार २०७५ १९:१३ आइतबार