coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रदेश नम्बर ७ शीर्ष स्थनमा

काठमाडौं – प्रदेश नम्बर ३ लाई २ विकेटले पराजित गर्दै प्रदेश नम्बर ७ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लिग चरणको खेल शनिबार समाप्त गरेको छ । यद्यपि उसले अन्तिम चारमा स्थान बनाउन अन्य टोलीको खेल कुर्नुपर्ने भएको छ।

समूह ‘बी’ मा रहेको प्रदेश नम्बर ७ लिग चरणका सबै ४ खेल खेल्दै ५ अंक जोडेर शीर्ष स्थानमा छ । सोही समूहको दोस्रो स्थानमा रहेको नेपाल पुलिसले लिग चरणका दुई खेल खेल्न बाँकी छ । २ अंकका साथ २ खेल खेलेको प्रदेश नम्बर ३ तेस्रो, ३ खेलबाट १ अंक बटुलेको प्रदेश नम्बर ६ चौथो र १ खेल मात्र खेलेको प्रदेश नम्बर ५ पुछारमा छन् । अन्य टोलीका लिग चरणका खेल बाँकी रहँदा प्रदेश नम्बर ७ को सेमिफाइनल सम्भावना भने कायमै छ।

विजेता एपिएफ समूह ‘ए’ को शीर्ष स्थानमा छ भने पराजित प्रदेश नम्बर १ प्रतियोगिताबाट बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै ३३.३ ओभरमा सबै विकेट गुमाएर प्रदेश नम्बर ३ ले १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जबाफी ब्याटिङ गरेको प्रदेश नम्बर ७ ले ३९.४ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै लिगमा सुखद अन्त्य गरेको हो । सामान्य लक्ष्य भेटाउने क्रममा प्रदेश नम्बर ७ का लागि सुनील धमलाले सर्वाधिक २५ रनको योगदान गरे । ३३ बल खेलेका धमलाले ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, विजय राणा २४ रनमा सञ्जय बस्नेतबाट रनआउट भए । ८६ बलको सामना गरेका राणाले १ मात्र चौका प्रहार गरेका थिए।

प्रदेश ७ कै अरुण ऐरीले २१ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । इनिङको अन्त्यतिर निकै दबाबमा परेको प्रदेश ७ लाई विनोद लामाले अविजित ८ तथा विक्रम ठगुन्नाले ३ रन जोड्दै जित दिलाएका थिए।

प्रदेश नम्बर ७ को ८ विकेट लिने क्रममा प्रदेश नम्बर ३ का सागर ढकाल र जितेन्द्र ठकुरीले समान २–२ विकेट हात पारे । यस्तै सञ्जय बस्नेत, प्रतीश जिसी र किशोर महतोले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश नम्बर ३ का लागि कप्तान जितेन्द्र ठकुरीको सर्वाधिक ४० रन योगदान गरे । टोलीका लागि सर्वाधिक रन जोडेका ठकुरी विनोद लामाको बलमा एलबिडब्लुमा आउट भएका थिए । ओपनिङ ब्याटिङ गरेका ठकुरीले ७७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै सोनु तामाङले २९ रनको योगदान गर्दा सञ्जय बस्नेतले १० रन जोड्नु बाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

प्रदेश नम्बर ३ को इनिङलाई सस्तैमा समेट्न प्रदेश नम्बर ७ का शेर मल्लले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका मल्लले २ मेडन राख्दै २७ रन खर्चेका थिए । यस्तै विकास अगरीले ३ विकेट हात पार्दा विनोद लामा र विक्रम ठगुन्नाले समान १–१ विकेट लिए।

शनिबारै मूलपानी मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा विभागीय टोली एपिएफले प्रदेश नम्बर १ माथि ९ विकेटको फराकिलो जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । लिगको अन्तिम खेल खेलेको प्रदेश नम्बर १ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर प्रदेश नम्बर १ लाई ब्याटिङको निम्तो दिएपछि पाएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफले मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । एपिएफको जितका लागि अनिलकुमार शाह र पृथु बास्कोटाले अविजित ६२ तथा ३२ रनको योगदान गरे । शाहले ४८ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए भने बास्कोटाले ३२ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए । यसअघि ओपनर प्रदीप ऐरी सन्दीप ढुङ्गानाको बलमा फिर्दोस अन्सारीबाट १९ रनमा क्याच हुँदै पवेलियन फर्किएका थिए । एपिएफको एक मात्र विकेट प्रदेश नम्बर १ का सन्दीप ढुङ्गानाले लिएका थिए।

यसअघि ब्याटिङको निम्तो पाएको प्रदेश नम्बर १ का लागि ओपनर सन्दीप ढुङ्गानाले सर्वाधिक २९ रनको योगदान गरेका थिए । ६४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेका ढुङ्गाना भुवन कार्कीको बलमा ‘कट एन्ड बोल्ड’ हुँदै पवेलियन फर्किएका थिए । मन्दीप थापाले २७ रनको योगदान कप्तान पुष्प थापाले २० रनको इनिङ खेले । ११ रनको योगदान गरेका सन्नी पुन भुवन कार्कीको बलिङमा एलबिडब्लुको धरापमा पर्दै पवेलियन फर्किंदा विवेक मेहता अमर राउटेलाको बलमा १० रनमा बोल्ड भए । यस्तै बाँकी ब्याट्सम्यान एपिएफका बलिङ सामु खुलेर खेल्न सकेनन्।

प्रदेश नम्बर १ को इनिङलाई अलआउट गर्न एपिएफका करण केसी, भुवन कार्की र वसन्त रेग्मीले समान २–२ विकेट लिए भने पवन सर्राफ र कमलसिंह ऐरीले समान १–१ विकेट लिए । जितसँगै एपिएफ समूह ‘ए’ को शीर्ष स्थानमा छ भने पराजित प्रदेश नम्बर १ प्रतियोगिताबाट बाहिरिएको छ । ४ खेलमा १ जित र ३ मा पराजय भोगेको प्रदेश नम्बर १ ले समूह ‘ए’ को पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो।

प्रतियोगितामा आइतबार त्रिभुवन विश्वविद्यालयको मैदानमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ६ तथा मूलपानी मैदानमा प्रदेश नम्बर ४ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App