१५ चैत्र २०८० बिहीबार
खेल

प्रदेश २ को जितमा सन्जम नायक

काठमाडौं – भेट्रान स्पिनर सन्जम रेग्मीले १० ओभरको बलिङमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिएपछि प्रदेश नम्बर २ ले प्रदेश नम्बर ४ लाई ६७ रनले पराजित गर्दै मंगलबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ।

मूलपानी मैदानमा प्रदेश नम्बर २ ले टस जितेर पहिला ब्याटिङ गर्दै ४४.३ ओभरमा सबै विकेट गुमाएर प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ४, २८.५ ओभरमा ९१ रनमा समेटिँदा लगातार दोस्रो खेलमा पराजित भएको हो।

झिनो लक्ष्य पाएको प्रदेश नम्बर ४ का लागि ओपनर अनिल गुरुङ र सुमन घिमिरेले क्रमश ३६ र ३२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्याले दोहोरो अंक जोड्न सकेनन्। सर्वाधिक ५ विकेट लिएका सन्जमले प्रदेश नम्बर ४ का ४ खेलाडीलाई बोल्ड गरेका थिए भने सर्वाधिक ३६ रन बटुलेका अनिल गुरुङलाई सहकर्मी प्रताप सिंहबाट क्याच आउट बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको प्रदेश नम्बर २ का लागि विशाल सुस्लिङले सर्वाधिक २६ रन जोडे। ६९ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। यस्तै, ओपनरद्वय हरिशंकर शाह र कुन्दन सिंहले क्रमश १२ र १० जोडे भने कप्तान मेहबुब अलाम र राहुलप्रताप सिंहले समान १७÷१७ रनको योगदान गरे। यस्तै रसिद खानले १८ रन जोड्दा म्यान अफ दी म्याच सन्जम रेग्मी ३ रनमा अविजित रहे।

प्रदेश नम्बर २ लाई अलआउट गर्न विपिन खत्री र हरि चौहानले समान ३/३ विकेट लिए भने अनिल गुरुङ, राजु गुरुङ र गोविन्द प्रधानले १/१ विकेट लिए।

समूह ‘ए’ मा रहेको प्रदेश नम्बर २ ले मंगलबारको जितसँगै तालिकामा २ अंक जोड्न सफल भएको छ। यसअघिको पहिलो खेलमा प्रदेश नम्बर १ सँग ६८ रनले पराजित भएको थियो। उता पराजित प्रदेश नम्बर ४ दुईमध्ये दुवै खेलमा पराजित हुँदै समूह ‘ए’ को पुछारमा छ।

यस्तै, मंगलबारै सम्पन्न अर्को खेलमा प्रदेश नम्बर ३ का चन्द्र बिसीले प्रदेश नम्बर ६ विरुद्ध किफायती बलिङ गर्दै सर्वाधिक ६ विकेट लिए पनि ३ विकेटले पराजित हुनुप-यो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश नम्बर ६ ले प्रदेश नम्बर ३ सामु ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खेलमा प्रदेश नम्बर ६ का लागि रवीन्द्र शाही र दिवान पुनले अर्धशतक पूरा गर्दै ५२ रन जोड्न सफल भएका थिए। यस्तै टेक सलामीले २६ रन जोड्दा ११ रनमा पहिलो विकेट गुमाएको प्रदेश ६ ले ७५ रन बनाउँदा ६ विकेट गुमाएको थियो। बलिङतर्फ प्रदेश नम्बर ३ का किशोर महतो र जितेन्द्र ठकुरीले समान २/२ विकेट लिएका थिए।

सामान्य लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका ब्याट्सम्याले प्रदेश नम्बर ३ को इनिङलाई सम्हाल्दै ३७.३ ओभरमा ७ विकेट क्षतिमा लक्ष्य पूरा गरेका थिए। प्रदेश ३ का लागि रूपेश श्रीवास्तव र किशोर महतोले अविजित ३९ र २५ रन जोडेका थिए। यस्तै, आदिल खानले ३१ र ईशान पाण्डेले २३ रन जोड्न सफल भएका थिए।

चन्द्र बिसी एक्लैले ७ मध्ये ६ विकेट लिए पनि टिमलाई जित दिलाउन भने सकेनन्। १० ओभर बलिङ गरेका चन्द्रले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए। पहिलो खेलमा जित हात पारेको प्रदेश नम्बर ३ अंकतालिकाको दोस्रो स्थानमा छ भने लगातार दुई खेलमा पराजित भएको क्षेत्र नम्बर ६ समूह ‘बी’ को पुछारमा छ।

प्रतियोगिताअन्तर्गत बुधबार त्रिभुवन विश्वविद्यालयको मैदानमा प्रदेश १ र ४ तथा मूलपानी मैदानमा प्रदेश ५ र प्रदेश ७ बीच खेल हुनेछ।

प्रकाशित: १६ जेष्ठ २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App