१६ चैत्र २०८० शुक्रबार
खेल

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता जेठ १३ देखि २८ गतेसम्म हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागी हुने राखेप सदस्यसचिव केशवकुमार विष्टले बताए।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ‘ए’ मा नेपाल आर्मी, एपिएफ, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ तथा समूह ‘बी’ मा नेपाल पुलिस, प्रदेश नम्बर ३, प्रदेश नम्बर ५, प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ छन्।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्दा सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार र उदीयमान खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ हात पार्नेछन्।

प्रतियोगिताको व्यवस्थापन नेपालय इन्टरनेसनलले गर्नेछ । विष्टले राखेप सबै प्रतियोगिता गर्न सक्षम भए पनि खेलकुद क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन नेपालयसँग सहकार्य गरेको बताए।

‘सरकारले विनियोजन गरेको बजेटमा मात्र प्रतियोगिता गर्न कठिन छ । त्यसैले हामीले निजी क्षेत्रसँग सहकार्य गरेका हौं,’ विष्टले भने, ‘प्रतियोगिताको कुल खर्च नगद १ करोड ८० लाख हुने देखिन्छ र तर हामीसँग प्रतियोगिताका लागि नगद ६५ लाखको मात्र बजेट छ । यसबीचमा राखेप र नेपालयले नै प्रायोजक खोज्ने प्रयास गर्नेछन्।

प्रायोजनपछि पनि बजेट अपुग भएमा हामी सरकारसँग थप रकम विनियोजनका लागि प्रस्ताव गर्नेछौं । गत संस्करणमा प्राविधिक कठिनाइका कारण विजेताले पुरस्कार रकम हात पार्न केही समय कुर्नुपर्याे। तर यस पटक त्यो समस्या दोहोरिने छैन।’

गत वर्ष प्रतियोगिताको पहिलो संस्करणको व्यवस्थापन जिम्मा राखेपले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई दिएको थियो।

प्रकाशित: २८ वैशाख २०७५ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App