१५ चैत्र २०८० बिहीबार
खेल

क्रिकेट र भलिबलले धान्दै बैतडीको खेल

बीरेन्द्र मावि शाहीलेकको खेल मैदान, मैदान अभावमा खेलाडीले साँघुरो ठाउँमा अभ्यास गर्ने गरेका छन्। तस्बिरः बिरा गडाल/नागरिक

बैतडी – जिल्लामा क्रिकेट र भलिवलबाहेक अन्य खेलकुदका प्रशिक्षक नहुँदा गतिविधि हुने गरेका छैनन्। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।

खेलकुद विकास समितिले पटकपटक माग गरे पनि हालसम्म पूरा नहुँदा जिल्लाको खेल गतिविधि सुस्ताउँदै गएको छ। जिल्लाको खेलकुद क्रिकेट र भलिबलमै सिमित छ। सानो चौंर नेट र बल भए सजिलै खेल्न सकिने भलिबल बैतडीमा धेरै पहिलादेखि खेलिदै आएको छ। यसको लोकप्रियता दूरदराजका गाउँसम्म छ। चाहे विद्यालयको वार्षीक उत्सव होस वा अन्य कुनै क्लबस्तरीय प्रतियोगिता सबैले रुचाएको खेल यही नै हो। पछिल्लो केही वर्षयता क्रिकेटमा लहर बढे पनि भलिबलको लोकप्रियतामा कमि आएको छैन्।

जिल्लामा खेल गतिविधिका नाममा भलिबल र क्रिकेट मात्रै हुने गरेका छन्। क्रिकेटमा क्षेत्र नम्बर ६ बैतडीको नामले देशमै ख्याती कमाएको यस क्षेत्रका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरसम्म छाएका छन्। क्रिकेटको तुलनामा भलिबलका खेलाडी पनि कम छैनन्। क्षेत्रीय टिमबाट करिव एक सय जना पुरुषले सिनियर टिमबाट खेलेका छन् भने करिव ७० महिलाले आफ्नो प्रतिभा देखाएका छन्।

सार्क महिला भलिबलमा बैतडीकै चेली हिरा पन्त र रामा बागले सहभागी भएर बैतडीको भलिबल कम आक्न नसकिने उदाहरण पेस गरेका छिन्। भलिवलको राष्ट्रिय टिमबाट चार पटकसम्म खेलेकी गीता चन्द अझै खेलीरहेकी  छिन। सुदूरपश्चिम क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड छात्रा भलिबलमा लगातार तीनपटक च्याम्पियन रहेको बैतडीको भलिबलको दबदबा कायमै छ।

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा जितेन्द्र चन्द नेपाल भलिबल संघका पूर्व महासचिव धनसिंह रावत, गणेश ठगुन्ना लगायतका खेलाडीले बैतडीको प्रतिनिधित्व गरेका छन्। पछिल्लो समय नयाँ खेलाडी नआउँदा पुराना पलायन हुने क्रम बड्दा भलिबलमा सोचे अनुरुप जिल्लाले खेल क्षेत्रमा गति लिन सकेको छैन। यो कुरा खेलकुद विकास समितिका सदस्य पनि स्वीकार्छन्। जिल्ला खेलकुद विकास समितिसँग प्रर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्न सक्ने स्थिति छैन्। खेल प्रशिक्षकको रुपमा जिल्लामै एक जना भलिबल प्रशिक्षक मात्रै छन्।

स्रोतसाधनको अभावमा भलिबलले फड्को मार्न सकेको छैन्। पछिल्लो समय मावि उच्च मावि र क्लबस्तरीय प्रतियोगिताबाट आएका खेलाडीले भलिबल धानेको छ। जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था नरहेको जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख तर्कराज जोशीले बताए।

खेल गतिविधि सञ्चालन गर्न सदरमुकाममा सार्वजनिक खेल मैदानसम्म छैन्। विरेन्द्र उच्च माविको चौरमा जाली लगाएर भलिवल प्रतियोगिता हुने गरेको छ। केन्द्रबाट खेलको विकास र त्यससँग सम्बन्धित पूर्वाधार निमार्णको लागि बजेट विनियोजित कम हुदाँ अन्य गतिविधि सञ्चालन गर्न नसकेको कार्यालय प्रमुख जोशीले बताए।

खेलमा भविष्य नदेख्दा पलायन हुने क्रम रोकिएको छैन। पुराना खेलाडीको सिप नयाँमा स्तान्तरण गर्न समेत कठिनाइ भएको कार्यालय प्रमुख जोशी बताए। ‘पुराना खेलाडीसँग भएको कला नयाँले सिक्ने अवसर पाएका छैनन्,’ उनले भने, ‘प्रयाप्त अभ्यास गर्नसमेत खेल समाग्री र खेलमैदानको अभाव छ।’ जिल्लाका विभिन्न ठाँउमा गएर प्रतियोगिता सञ्चालन गर्न स्रोतसाधनको अभाव भएको जोशीले बताए।

क्षेत्रियस्तरसम्म अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरसम्मका खेलाडी जन्माएको बैतडीको भलिबल पछिल्लो समय खेलाडी टिकाउन सक्ने अवस्थामा छैन्। भलिबल खेलेर जीवन निर्वाह गर्ने अवस्था नहुँदा खेलाडी पलायन हुने क्रम बढेपछि खेलमा टिकाउन समस्या भएको हो। खेलकुदमा भविष्य नदेखेपछि अन्य पेसा व्यवसाय रोज्न रोज्दा भलिबलका पुराना खेलाडी पाउन समस्या भएको पूर्वखेलाडी गणेश ठगुन्नाले बताए। खेलाडीको लागि रोजगारीको ग्यारेन्टी नहुँदा पलायन हुने क्रम बढेको  छ।

माविस्तरीय छात्रा भलिबलमा २०७१ देखि लगातार तीनपटक क्षेत्रीय प्रतियोगिता जितेको बैतडीको भलिबल खेलमैदान र खेलाडीको अभावमा समस्यामा छ।  क्रिकेट र भलिबल बाहेक अन्य खेल गतिविधि नहुँदा खेलप्रति यहाँका स्थानीयले चासो दिन छोडेका हुन्। जिल्लामा खेलकुद प्रशिक्षकको पनि अभाव छ। भलिबलका एक जना  प्रशिक्षक मात्रै कार्यरत छन्।  भलिबलका हरिसिंह भण्डारी मात्र कार्यरत रहेका छन्। दुई वर्षअघि दुई जना कराँते र तेक्वान्डोका प्रशिक्षक करारमा आए पनि ६ महिनामै करार अवधि सकिएपछि प्रशिक्षक विहीन बनेको छ। एक जना कराँते प्रशिक्षक दरबन्दी बैतडी भए पनि काँजमा धनगढीमा छन्।

खेलाडी पलायनको क्रम बढन थालेपछि खेलकुद विकास समितिले भलिबलमा रुची भएका उचाइ भएका खेल्न सक्ने खेलाडीलाई प्रशिक्षणको लागि कार्यालयमा सम्पर्क राख्न गत वर्ष सूचना जारी गरे पनि कोही पनि सम्पर्कमा आएका थिएनन्। खेल्ने चाहना भए पनि आर्थिक अवस्थाले सदरमुकाममा आएर खेल्न सक्ने अवस्था धेरैको छैन।

खेलकुद समितिले जिल्लाका विभिन्न ठाउँमा गएर प्रतियोगिता सञ्चालन गरी प्रतिभावान खेलाडी छनोट गर्न सके मात्रै लुकेका प्रतिभा बाहिर आउन सक्ने पूर्व खेलाडी ठगुन्नाले बताए । तर यसको लागि प्रयाप्त बजेटसमेत छैन। यसका लागि सरकारले नै पहल चाल्नु पर्ने खलाडी बताउँछन्।               

प्रकाशित: ६ वैशाख २०७५ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App