३० माघ २०८१ बुधबार
image/svg+xml
खेल

त्रिदेशीय महिला टी-२० क्रिकेट: नेपालको लगातार चौथो हार, उपाधि यात्रा समाप्त

<br>

नेपालले काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजमा लगातार चौथो हार बेहोरेको छ। आफ्नो चौथो खेलमा मंगलबार थाइल्यान्डसँग ५ रनले पराजित भएसँगै नेपालको उपाधि यात्रा समाप्त भएको हो।

लगातार चौथो जितसँगै थाइल्यान्ड भने उपाधि नजिक पुगेको छ। उपाधिका लागि मात्र एक जित टाढा रहेको थाइल्यान्डको ८ अंक भएको छ। समान चार खेल खेलेको नेदरल्यान्ड्सको ४ अंक छ। सिरिजमा अब तीनै टिमले समान २ खेल खेल्न बाँकी छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १०७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १०१ रनमात्र बनाउन सक्यो।

अघिल्ला क्रमका ब्याटर दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केपछि संकटमा परेको नेपालको इनिङ्स रुबिना क्षेत्री र पुजा महतोले सम्हाल्ने प्रयास गरेका थिए। ८ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रुबिना र पुजाले पाँचौ विकेटका लागि ४८ रनको साझेदारी गरे। रुबिना २६ र पुजा १८ रनमा आउट भए। कविता जोशीले २४ र रोमा थापाले १९ रन बनाए पनि नेपालको हार भने टार्न सकेनन् । 

नेपाललाई कम योगफलमा रोक्न थिपाच्चा पुथावङले ४ र फनिता मायाले २ विकेट लिइन्। 

यसअघि पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन बनायो। थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए। साथै, नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन्।

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक/एक विकेट लिए।

सिरिजमा नेपालले बुधबार नेदरल्यान्ड्ससँग र शुक्रबार थाइल्यान्डसँग खेल्नेछ। बिहीबार थाइल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

प्रकाशित: २२ माघ २०८१ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App