आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको २४औं संस्करण मंगलबार सुरु हुँदैछ। पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यो संस्करणको गोल्डकपमा पुलिस अधिकांश नयाँ खेलाडीसहित मैदान उत्रन लागेको छ । सहाराले भने ३ विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । गोल्डकपको उद्घाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गर्नेछन् ।
विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्।
२४औं संस्करणसम्म आइपुग्दा पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन् । थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक जितेको छ ।
आयोजक सहारा, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबलले समान १ पटक च्याम्पियन बनेका छन् । पूर्व विजेता मनाङ र अफ्रिकन युनाइटेड बाहेक बाँकी सबै विजेतासहित १२ टोलीले यस पटक प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित: २२ माघ २०८१ १४:०६ मंगलबार