१६ चैत्र २०८० शुक्रबार
खेल

आर्मी र जेभियरको दोस्रो जित

काठमाडौं – त्रिभुवन आर्मी क्लब ‘ए’ र जेभियरले सोमबार मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा लगातार दोस्रो जित निकालेका छन्।

आर्मीको ‘ए’ टोलीले बलर्जलाई ७४–५१ को स्कोरमा पराजित गर्दा जेभियरले आर्मीको ‘बी’ टोलीलाई पराजित गरेको हो । आर्मीको ‘ए’ टोलीको जितमा सदीश प्रधानले सबैभन्दा धेरै २४ स्कोर गरे।

पहिलो क्वार्टरमा २६–१४ को अग्रता लिएको आर्मीको ‘ए’ टोली दोस्रो सेटमा १६–१८ ले पछि पर्यो । तेस्रो र चौथो क्वार्टरमा आर्मी ‘ए’ ले क्रमशः १६–६ र १६–१३ अंक जोड्यो।

प्रतिस्पर्धात्मक खेलमा जेभियरले आर्मीको ‘बी’ टोलीलाई ७४–७२ को स्कोरमा पराजित गर्यो । जेभियरका लागि निकेश मगरले सबैभन्दा धेरै २३ स्कोर गरे । पहिलो क्वार्टरमा १५–२२ ले पछि परेको जेभियरले दोस्रो र तेस्रो क्वार्टरमा अग्रता लिएपछि दोस्रो जित पक्का गरेको हो । जेभियरले दोस्रो क्वार्टरमा २२–१७ र तेस्रोमा २३–१३ को  स्कोर गर्यो । चौथो क्वार्टर आर्मीको ‘बी’ टोलीले २०–१४ को स्कोर गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन।

पुरुषतर्फ नै बुढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले हरायो । बुढानीलकण्ठका लागि विराज रानाले सबैभन्दा धेरै १७ स्कोर गरे।

महिलामा समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को सहज विजय हासिल गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । समृद्धिका लागि मुना महर्जनले सबैभन्दा धेरै १५ अंक जोडिन्।

तीन टोली सहभागी रहेको समूह ‘बी’ मा लगातार दोस्रो हार बेहोरेसँगै नेकोस प्रतियोगिताबाट बाहिरिएको छ । नेकोस यसअघि साइपाल एकेडेमीसँग पराजित भएको थियो । नेकोसको हारले साइपाल सेमिफाइनलमा पुग्न सफल भयो।

प्रकाशित: ४ वैशाख २०७५ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App