१५ चैत्र २०८० बिहीबार
खेल

चौथो चरणमा बद्रीलाल पराजित

काठमाडौं – बद्रीलाल नेपाली काठमाडाैंमा जारी ओपन अन्तर्राष्ट्रिय जिएम चेस प्रतियोगिताको चौथो चरणमा शनिबार पराजित भएका छन्।

बुढानिलकण्ठस्थित पार्क झिलेज रिसोर्टमा जारी प्रतियोगिताअन्तर्गतको चौथो चरणको खेलमा भारतका इन्टरनेसनल मास्टर हर्ष भारताकोटीसँग पराजित भएका हुन्।

यसअघि बद्रीले तेस्रो चरणको खेलमा रोमानियाकी इन्टरनेसनल मास्टर एलिना लामीलाई पराजित गरेका थिए ।  बद्रीले चौथो चरणको समाप्तिसम्म प्रतियोगितामा तीन अंक जोड्न सफल भएका छन्।

चौथो चरणको खेल सकिँदासम्म इजरेलका ग्रिनफिल्ड एलनले चार अंक जोड्दै अपराजित यात्रालाई कायम राखेका छन् । तेस्रो चरणमा नेपाली खेलाडी रूपेश जयसवाललाई हराएका एलनले चौथो चरणमा भारतका निरञ्जन नाभलगुन्डलाई पराजित गरेका थिए । यस्तै, अजरबैजानका ग्रान्डमास्टर कास्पारोभ सेर्गीले चौथो चरणमा भारतका अंकित गाज्वालाई हराउँदै चार अंक जोडे।

रूसका अलेक्जान्दर फोमिनी र भारतका सन्दीपनले बराबरी खेल्दै अंक बाँडे । तेस्रो चरणमा फोमिनीले भारतका सुभ्यान कुन्डुलाई पराजित गरेका थिए भने नेपालका क्यान्डिडेड मास्टर विवेक थिङलाई स्तब्ध बनाएका थिए ।  दुवैले ३.५ अंक बनाएका छन् । भारतका प्रिन्स बजाज र हर्षवद्र्धन जिबीले बराबरी खेल्दै अंक बाँडे । हर्षवद्र्धनले तेस्रो चरणको खेलमा स्पेनका लानेजा भेगा मार्कोसलाई पराजित गरेका थिए भने प्रिन्स बजाजले नेपाली क्यान्डिडेड मास्टर थिङलाई पराजित गरेका थिए।

यस्तै, भारतका दीप सेनगुप्ताले चौथो चरणमा भारतका राहुल गुरुङलाई पराजित गर्दै ३.५ अंक जोड्न सफल भए ।
उता तेस्रो चरणमा पराजित भएका रूपेश जयसवाल र मनीष हमालले चौथो चरणको खेलमा भने जित हात पारेका छन् । चौथो चरणको खेलमा नेपालका रूपेशले भारतका शुभम् शुक्लालाई पराजित गरेका थिए भने फिडेमास्टर मनीषले नेपालकै भगवतीप्रसाद शर्मालाई हराएका थिए।

मंगलबारसम्म चल्ने प्रतियोगितामा ११ ग्रान्डमास्टरसहित १ सय ६६ खेलाडीको सहभागिता रहेको छ । केएनपी जापानको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको विजेताले कुल १० लाख पुरस्कार प्राप्त गर्नेछ भने शीर्ष २० मा अटाउने खेलाडी पनि नगदबाट पुरस्कृत हुनेछन्।

प्रकाशित: २ वैशाख २०७५ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App