७ वैशाख २०८१ शुक्रबार
खेल

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

धनगढी– विकासका दृष्टिकोणले पछाडि परेको हिजोको सुदूरपश्चिम अर्थात प्रदेश ७  क्रिकेट खेलमा सन्तोषजनक उपलब्धि हासिल गर्दै गइरहेको छ। राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका कयौँ खेलाडी यही क्षेत्रले जन्माएको छ। पछिल्लो समयमा प्रदेश नम्बर ७ को अस्थायी राजधानी तथा क्रिकेटको सहर भनिएर चिनिएको धनगढीमा भइरहेको डिपीएलले थप चर्चा बटुलेको छ। खेलाडी, खेल क्षेत्रका मात्र नभई व्यवसायीलगायतका धेरै क्षेत्र क्रिकेट खेलको विकासमा जोडिन थालेका छन्। 

यस प्रदेशका व्यवसायीले लगानी गरेर टिम बनाएका छन्। डिपिएलमा अहिले दोस्रो चरणमा प्रवेश गरेका ४ टिममध्ये तीन टिम यसै प्रदेशका रहेका छन्। क्रिकेटको टिममा लगानी गर्ने व्यवसायीले खेलाडीलाई प्रोत्साहनका लागि लगानी गरेको बताएका छन्। समाजप्रतिको जवाफदेहिता पनि हुने र क्रिकेटलाई प्रोत्साहन पनि मिल्ने भएकाले युवा व्यवसायी क्रिकेट खेलमा लगानी गरेको बताउँछन्। ‘सुरुमा त हामीले खेलाडीलाई प्रोत्साहन होस् भनेर नै लगानी गरेर टिम बनाएको हौँ,’ धनगढी टिम चौराहका सञ्चालक पुष्कर ओझाले भने। धनगढी टिम चौराह डिपिएल पहिलो संस्करणको उपाधि बिजेता टिम हो। टिम चौराहमा पाँचजना व्यवसायीले लगानी गरेका छन्। पाँचजना व्यवसायीले जनही पाँच लाख दरले यस वर्ष लगानी गरेका हुन्। ‘पाँच लाखका दरले २५ लाख र प्रायोजकबाट २५ गरी करिब ५० लाख रुपैयाँ टिममा खर्च लाग्ने भएको छ,’ उनले भने। गत वर्ष पनि उपाधि जितेको र अहिले पनि उपाधि जित्ने लक्ष्यका साथ टिममा बढी लगानी गरेको उनी बताउँछन्। यूएईका दुईजना खेलाडी टिम चौराहमा रहेका छन्। यी दुई खेलाडीमा सबै खर्च लगाएर १० लाख लागेको उनले बताए। युएईका कप्तान समेत रहेका रोहन मुस्तफा र अर्का यूएईकै खेलाडी अस्फाक अहमद धनगढी चौराहमा रहेका छन्। क्वालिफायरमा मंगलबार काठमाडौं गोल्डेनलाई पराजित गर्दै धनगढी टिम चौराह फाइनलमा प्रवेश गरिसकेको छ।

गत वर्षको खेलमा टिम चौराहबाहेक अन्य टिम दोस्रो चरणमा प्रवेश गर्न सकेका थिएनन्। अहिले सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड पनि प्लेअफमा प्रवेश गरे। महेन्द्रनगर युनाइटेड टिमका सञ्चालक अशोक पाण्डेय धेरै राष्ट्रिय खेलाडी जन्माएको महेन्द्रनगरमा क्रिकेटको व्यवसायिक विकास भएर खेलाडीलाई प्रोत्साहन होस् भनेर लगानी गरेको बताउँछन्। ‘खेलाडीलाई प्रोत्साहन मिलोस् भनेर हामीले लगानी गरेका हौँ,’ उनले भने। डिपीएल क्रिकेटको कुम्भ बन्न थालेको उनी बताउँछन्। आफ्नै प्रदेशको आँगनमा भइरहेको डिपीएलमा क्रिकेटको उर्वरभूमि महेन्द्रनगरको टिम सहभागिता नहुँदा खेलाडीलाई प्रोत्साहन नहुने भएकाले व्यवसायी मिलेर लगानीगरी टिम बनाएको उनको भनाई छ। भविष्यमा राम्रो क्रिकेट मैदान बनाएर डिपीएलका खेल महेन्द्रनगरमा पनि सञ्चालन गर्न सकिने उनी बताउँछन्। महेन्द्रनगरले पुनित बिष्ट र पुनित मेहरालाई भारतबाट ल्याएको छ। यस वर्ष करिब ४० लाख लगानी लागेको उनीहरु बताउँछन्।

लगानी बढ्दै

डिपीएलको चर्चा, उचाई  र पुरस्कारको राशि वृद्धिसँगै टिममा लगानी पनि बढ्दै गएको छ। सुरुका वर्षभन्दा यस वर्ष बढी लगानी लागेको धनगढी टिम चौराहका सञ्चालक ओझा बताउँछन्। ‘गत वर्ष पनि उपाधि जित्यौँ, अझै उपाधि जित्नका लागि राम्रो गर्नुपर्छ भनेर लगानी बढाएका छौँ,’ उनले भने। टिम राम्रो बनाउन सकेमा खेलाडीको पनि मनोबल बढ्ने भएकाले यस वर्ष बढी लगानी गरेर टिम राम्रो बनाएको महेन्द्रनगर युनाइटेडका सञ्चालक पाण्डेयले बताए। यस वर्ष प्रायोजक पनि बढी पाइएको उनी बताउँछन्। पहिलो संस्करणको भन्दा केही व्यवसायीले प्रत्यक्षरुपमा लगानी गरेर थपिएका छन् भने प्रायोजक पनि बढी पाएको उनको भनाइ छ। ‘क्रिकेटको विकासले राम्रो गति लिइरहेकाले खेलाडीको प्रोत्साहनको लागानी यो वर्षदेखि मैले पनि महेन्द्रनगर टिममा गरेको हुँ,’ महेन्द्रनगर टिमका सञ्चालन दिनेश मल्लले भने। महेन्द्रनगर युनाइटेड टिममा ७ जना व्यवसायीले लगानी गरेका छन्। 

लगानीले क्रिकेट व्यवसायिक बन्दै 

डिपीएलमा सहभागी टिममा व्यवसायीले लगानी गर्ने क्रम बढेसँगै क्रिकेट खेल व्यवसायिकतातर्फ अघि बढेको छ। हाम्रो देशमा खेल खेलेर मात्र खेलाडी बाँच्न नसक्ने र अर्को कुनै काम गर्नुपर्ने अवस्था रहेकोमा क्रिकेटका खेलाडीले खेलबाटै क्यारिएर बनाउन सक्ने अवस्था बन्दै गएको छ। ‘डिपीएलको आयोजना र टिममा व्यवसायीको लगानीले खेलाडीमा क्रिकेटलाई क्यारिएर बनाउन सकिन्छ भन्ने मनोबल बढिरहेको छ,’ महेन्द्रनगरका अशोक पाण्डेय भन्छन्। खेलाडीलाई ऊर्जा मिलोस् र हाम्रा खेलाडी पनि अरु देशका जस्तै खेलमा मात्र ध्यान दिए पुग्ने वातावरण बनाउन नै अहिलेको लगानी भएको उनी बताउँछन्।

लगानीबाट आम्दानी हुने दिन आउने छन्

डिपीएलले यस वर्ष आइसिसी मान्यता प्राप्त गरेको छ। यो प्रतियोगिताको विकाससँगै अहिले खेलाडीलाई प्रोत्साहन गर्न टिममा लगानी गर्ने लगानीकर्ता आम्दानी लिने दिन आउनेमा आशावादी छन्। ‘डिपीएलले आइसिसी मान्यता पाइसकेको छ। अन्तर्राष्ट्रिय रुपमा यसले चर्चा पाउन थालेपछि व्यवसायीको लगानी रिटर्न आउने छ,’ महेन्द्रनगरका अशोक पाण्डेयले सुनाए। 

सोनी च्यानल, स्टार प्लसलगायतका अन्तर्राष्ट्रिय मिडियामा यो प्रतियोगिता देखाउने वातावरण बनाउन प्रयास गरिनु पर्ने उनको भनाइ छ। ‘यसका लागि हामी पनि प्रयास गर्छौँ,’ उनले भने। एउटै कम्पनीले गर्ने लगानीबाट पनि रिटर्न हुन सक्ने उनले बताए। ‘अन्तर्राष्ट्रिय टेलिभिजनमा गएर अन्तर्राष्ट्रिय व्याण्डिङ भएमा लगानी रिटर्न आउन थाल्ने छ,’ महेन्द्रनगरका पाण्डेय बताउँछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App