८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पुलिसलाई पछ्याउँदै एनआरटी

यु १८ युथ लिग

सातदोबाटो (सेतो) का खेलाडीको बीचबाट बल बढाउने प्रयास गर्दै एनआरटीका खेलाडी। तस्बिर: एन्फा

न्युरोड टिम (एनआरटी) ले बुधबार सातदोबाटो युथ क्लबमाथि ३–० को जित हात पार्दै ललित स्मृति यु–१८ युथ लिगमा शीर्ष स्थानको नेपाल पुलिस क्लबलाई उपाधि भिडन्तमा टक्कर दिने सम्भावना बलियो बनाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली पुलिसले नवौं स्थानको चर्च बोइज युनाइटेडलाई ३–१ ले पराजित गर्दै एनआरटीसँगको अंकदूरी सातमा पुर्‍याएको थियो। तर, दुई घन्टा नबित्दै एनआरटीले पुछारको सातदोबाटोमाथि ३–० को एकपक्षीय जित निकाल्दै अंकदूरी चारमा झार्न सफल  भएको हो।

यससँगै लिग चरणको ११औं खेल सकेको पुलिसको २६ र न्युरोडको २२ अंक छ। पराजित चर्च बोइजको १४ र पुछारको सातदोबाटोको चार अंक मात्रै छ। शीर्ष स्थानको पुलिसको जितमा कप्तान सुवास बम नायक रहे। पेनाल्टीमा चुके पनि दुई गोल गरेका उनी नै प्लेयर अफ द म्याच चुनिए। अर्को गोल भने चिरण कार्कीले थपे। चर्च बोइजका अनुज थिङले गरेको गोल सान्त्वना रह्यो।

चर्च बोइजका डिफेन्डरले रोक्ने क्रममा पेनाल्टी बक्समा पुलिसका खेलाडीलाई लडाएपछि रेफ्री विजय तामाङले फाउल दिएका थिए। प्राप्त पेनाल्टीलाई नेपाली यु–१७ राष्ट्रिय टोलीका कप्तानसमेत रहिसकेका सुवासले प्रहार गरे पनि चर्च बोइजका गोलकिपर असीम खड्काले बचाए।

रिबाउन्डमा आएको बललाई दोस्रोपल्ट सुवासले नै प्रहार गरे पनि अकासियो। तर, त्यसको आठ मिनेटपछि नै सुवासले पुलिसलाई सुरुआती अग्रता दिलाए। साजनराज गौतमले दिएको लामो क्रसमा अनमार्क रहेका सुवासले प्रहार गरेको बलले सीधै जाली चुम्यो।

पहिलो हाफको अन्त्यतिर चिरणले अर्को गोल थपेपछि पुलिसले २–० को अग्रता लियो। फ्रिककमार्फत आएको बललाई साजनले हेडर गर्दै गोल लाइननजिक पुर्‍याएका थिए। गोलकिपर असीम बिट भइसकेको अवस्थामा चिरणले खाली पोस्टमा गोल गरेका हुन्।

दोस्रो हाफको सुरुआती दुई मिनेटमै अनुजले गोल गर्दै चर्च बोइजलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, ७२औं मिनेटमा लक्ष्मण थामीसँग तालमेल मिलाउँदै सुवासले नै गोल गर्दै चर्च बोइजबाट जित खोसे। उनले क्विक कर्नरमा लक्ष्मणसँग तालमेल मिलाएका हुन् ।

अर्को खेलमा सुवासले झैं ईशान शाहले दुई गोल गर्दा एनआरटीले सहज जित हात पार्‍यो। एक गोल भने राजन बुढाले थपे। सन्तोष गोङ्वाको प्रहारलाई सातदोबाटोका गोलकिपर अजय जर्सीले बचाउने प्रयास गरेका थिए। तर, राम्रोसँग क्लियर गर्न नसक्दा ईशानले सहजै गोलमा परिणत गर्दै एनआरटीलाई ११औं मिनेटमा सुरुआती अग्रता दिलाए। त्यसको चार मिनेटपछि उनले नै अर्को गोल गरे। समीर नेपालीबाट आएको कट ब्याकमा गोल लाइनजिक रहेका ईशानले सहजै गोल गरेका हुन्।

निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा राजनले अर्को गोल थपे। काउन्टर अट्याकमार्फत बनेको अवसरमा ईशानले राजनलाई बल निकाल्दिएका थिए। सोही बललाई अनमार्कमा रहेका राजनले फिनिसिङ टच दिए र एनआरटीलाई लिगको सातौं जित दिलाए ।

प्रकाशित: ६ मंसिर २०८१ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App