७ वैशाख २०८१ शुक्रबार
खेल

पेनाल्टीमा झापा भाग्यमानी

मोरङ – आयोजक मोरङ–११ लाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै झापा–११ विराट गोल्ड कपको सेमिफाइनमा प्रवेश गरेको छ।

सहिद रंगशालामा सोमबार सम्पन्न खेलको निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै पक्षबाट कुनै गोल हुन नसक्दा नतिजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो।

पेनाल्टी सुटआउटमा झापा–११ का योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र मिचेल लाइजेले गोल गर्दा मोरङका दीपक राई, अशोक खवास र बुद्धिमान राईले मात्र गोल गर्न सके । मोरङका साइमन लिम्बुले गरेको चौथो पेनाल्टी प्रहार अकासिएपछि झापाको सेमिफाइनल यात्रा पक्का बन्यो।

यसअघि २५औं मिनेटमा दीपक गुरुङले गोल गर्दै मोरङलाई दिलाएको अग्रता त्यसको तीन मिनेटपछि नै निरोज बस्नेतले दोब्बर पारेका थिए । ३१आैं मिनेटमा कर्ण लिम्बुको गोलमा झापाले खेलमा फर्कने संकेत गरेको थियो । ५०औं मिनेटमा मोरङका निशान लिम्बुको प्रहार रोक्ने क्रममा मुक्ता लावलले आत्मघाती गोल गर्दा झापा ३–१ ले पछि परेको थियो।

त्यसको एक मिनेटपछि नै मिचेल लाइजेले गरेको गोलमा झापाले गोलअन्तर कम गरेको थियो । खेल सकिन २ मिनेट बाँकी हुँदा अबुकर याकुबले गरेको गोलमा झापाले ३–३ को बराबरी गर्दै खेल अतिरिक्त समयमा धकेलेको थियो ।

‘३–१ ले पछि परेको स्थितिमा पनि हामीले आत्मविश्वास गुमाएनाैं,’ झापाका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘अन्ततः हामीले उत्कृष्ट पुनरागमन गरी खेल बराबरी गर्दै अतिरिक्त समयमा धकेल्यौं । पेनाल्टी सुटआउटमा हामी भाग्यशाली ठहरियाैं।

‘हामीले फ्लड लाइटमा खेलेको यो पहिलो खेल थियो, त्यसैले हामीलाई केही कठिनाइ भयो,’ कटुवालले थपे, ‘आगामी खेलमा थप सुदृढ प्रदर्शन गर्नेमा विश्वस्त छाैं ।’ ‘अग्रता लिनाका बावजुद त्यसलाई जोगाउन नसक्दा नतिजा सुम्पिन बाध्य भयाैं,’ मोरङका प्रशिक्षक पारस चौधरीले भने।

खेलमा झापाका अबुकर याकुवले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा मंगलबार दोस्रो क्वार्टरफाइनलमा एपिएफले संकटाको सामना गर्नेछ।

 

प्रकाशित: २० चैत्र २०७४ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App