१५ चैत्र २०८० बिहीबार
खेल

दोस्रो राजर्षि जनक कप : अायोजकद्वारा सुदूरपश्चिमलाई उपाधि प्रदान

सर्लाही– खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण शनिबार बीचैमा स्थगित भएको दोस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम–११ लाई प्रदान गरिएको छ।

आयोजक बागमती युवा क्लबले आइतबार दिउँसो एक समारोहबीच प्रथम उपाधि सुदूरपश्चिमलाई प्रदान गरेको हो। ‘हिजो विवादका कारण खेल हुन नसकेपछि बाँकी रहेको समय बराबर आज खेलाउने निर्णय गरेका थियौं’, आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले भने, ‘तोकिएको समयबाट आधाघण्टा भन्दा बढी कुर्दा पनि नेपाल आर्मी क्लब मैदानमा उपस्थित नभएपछि सुदूरपश्चिमलाई प्रथम उपाधि प्रदान गरेका हौं।’

सुदूरपश्चिमले नगद ५ लाख तथा ४ लाख रुपैंया लागतमा बनाईएको कलात्मक राजर्षि जनक कप पाएको छ। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सुदूरपश्चिमका जर्सी नं. १३ का माधव भण्डारीले यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल पाएका छन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्ट्राईकर, गोलकिपर र प्रशिक्षकको रुपमा सुदूरपश्चिमका क्रमशः विनोद केसी, दिलमनी चौधरी र सुरेश हमाललाई घोषित गर्दै १५ हजार रुपैंयाको दरले प्रदान गरियो। त्यस्तै उत्कृष्ट डिफेन्डर र मिडफिल्डरको रुपमा घोषित सर्लाही–११ का क्रमशः गौरव श्रेष्ठ र याङ दोर्जे लामाले समेत १५–१५ हजार रुपैंया हात पारे।

नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीचको फाइनल अन्तर्गत शनिबार खेल सकिन २१ मिनेट बाँकी छँदा सुदूरपश्चिमका ११ नं. जर्सीका अफ्रिकन खेलाडी एरोनालाई फिफा रेफ्रि सुदिस कुमार पाण्डेले रेडकार्ड देखाएपछि सुरु भएको विवादका क्रममा खेलाडीबीच नै कुटाकुट भएको थियो। लगत्तै उपस्थित अधिकांश दर्शक समेत मैदानमा छिरेर आर्मीका खेलाडीमाथि कुटपीट हुन थाल्दा आयोजक समितिका स्वयंसेवक र सुरक्षाकर्मीले मैदानबाट भिड तितरवितर पारेपछि आधाघण्टामा आर्मीका खेलाडी मैदानभित्र छिरे। तर छिर्ने बितिकै रेफ्री पाण्डेले आर्मीका १ नं. जर्सीका गोलकिपर विकास कुथु, २७ नं. का विकास तामाङ र ३२ नम्बरका दिपक गुरुङलाई रेडकार्ड देखाए। लगत्तै आर्मीका कप्तान भरत खबाससहितका खेलाडी कल गर्नका लागि रेफ्रीतर्फ बढ्दै गर्दा आयोजक समितिका पदाधिकारी मैदानभित्रै छिरेर रोक्न खोजेपछि आर्मीका खेलाडी र आयोजक समितिका पदाधिकारी बीच नै भनाभन भएको थियो। त्यसपछि आर्मीका खेलाडी मैदान छाडेर हिँडेपछि आयोजकले खेल स्थगित गरेका थिए।

आइतबार दिउँसो ३ बजे सुदूरपश्चिमको तर्फबाट १० तथा आर्मीको तर्फबाट ८ जना खेलाडी मात्रै सहभागी गराई २१ मिनेट खेलाउने निर्णय गरेपनि आर्मी नआएपछि सुदूरपश्चिमलाई प्रथम उपाधि प्रदान गरिएको अध्यक्ष मैनालीले बताए। विवाद हुनुअघिसम्म सुदूरपश्चिमको २ तथा आर्मीको १ गोल रहेको थियो। 

सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले राजर्षि जनक कपको उपाधि चुम्न पाउँदा अत्यन्त खुशी लागेको बताए। ‘हिजै आर्मीले मैदान छाडेर हिँडेपछि हामीलाई विजेता घोषणा गर्नु पथ्र्यो’, हमालले भने, ‘तैपनि आयोजकको आग्रह अनुसार बाँकी समय खेल्नका लागि आज हामी मैदानमा आएका थियौं, तर आर्मी क्लब नआएपछि स्वतः हामी उपाधिको हकदार भयौं।’

यता नेपाल आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले आयोजक समितिको एकतर्फी निर्णय आएकाले आफूहरु आइतबारको खेलमा सहभागी नभएको बताए। ‘हिजो विवाद भएर रोकिएको खेल सुचारु गर्न सम्बन्धित सबैपक्षलाई राखेर कन्भिन्स गर्नुपर्नेमा आयोजकबाट एकपक्षीय ढंगबाट निर्णय आयो’, न्यौपानेले भने, ‘सुरक्षा व्यवस्था लगायत विभिन्न प्रकृयामा कमजोरीसहित आयोजकको एकलौटी देखिएपछि नेपालमा फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघसँगको सल्लाह अनुसार हाँमी सहभागी भएनौं।’

आयोजकले दोस्रो टिमलाई प्रदान गरिने ३ लाख नगद तथा कप आर्मी क्लबलाई नदिइने जनाएको छ। आयोजक क्लबको निर्णय नमानेकाले दोस्रो पुरस्कार नदिइएको अध्यक्ष मैनालीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको प्रमुख आतिथ्यता रहेको समापन समारोहमा नेपाल प्रहरीका उपरीक्षक मसाउद आलम खाँ, सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुर, वागमती नगरपालिकाका मेयर भरत थापा लगायतको आतिथ्यता रहेको थियो।

आर्मी सर्लाही–११ र सरस्वती युवा क्लब काठमाडौंलाई हराउँदै फाइनल पुगेको थियो भने सुदूरपश्चिम जावलाखेल क्लब ललितपुर र ब्वाईज युनियन काठमाडौंलाई पराजित गर्दै उपाधिको होडमा पुगेको थियो। 

चैत ८ गतेदेखि सूरु भएको प्रतियोगितामा विदेशी टिम भूटानको ड्रूक स्टार र भारतको स्काई क्रेस्ट ब्वाईज मुम्बई क्लब एवं मुलुकका नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरस्वती युवा क्लब, जावलाखेल क्लब, ब्वाईज युनियन र सर्लाही–११ समेतको सहभागिता रहेको थियो।

प्रकाशित: १८ चैत्र २०७४ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App