१५ चैत्र २०८० बिहीबार
खेल

स्थगित फाइनल खेल आज हुने

सर्लाही – खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण शनिबार बीचैमा स्थगित भएको दोस्रो राजर्षि जनकप फुटबल प्रतियोगिताको फाईनल खेल आइतबार ( आज ) दिउँसो हुने भएको छ।

नेपाल आर्मी क्लब र सुदूरपश्चिम–११ बीचको फाइनलअन्तर्गत बाँकी खेल आज दिउँसो ३ बजे खेलाइने आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। ‘विवादपछि खेल पूरा हुन बाँकी २१ मिनेट आज दिउँसो खेलाउने निर्णय भएको छ’, अध्यक्ष मैनालीले भने, ‘गोल स्कोर र खेलाडी संख्या हिजोको कायम गरेर बाँकी समय खेल खेलाउँदै छौं ।’

शनिबारको खेलका क्रममा फिफा रेफ्रि सुदिस कुमार पाण्डेले सुदूरपश्चिमका १ जना तथा आर्मीका ३ जना खेलाडीलाई रातो कार्ड देखाएकाले आज हुने बाँकी खेलमा सुदूरपश्चिमको तर्फबाट १० तथा आर्मीको तर्फबाट ८ जना खेलाडी मात्रै सहभागि गराइने अध्यक्ष मैनालीले बताए। त्यस्तै विवाद हुनुअघिसम्म सुदूरपश्चिमको २ तथा आर्मीको १ गोल रहेको छ।

खेल सकिन २१ मिनेट बाँकी छदा सुदूरपश्चिमका ११ नम्बर जर्सीका अफ्रिकन खेलाडी एरोनालाई फिफा रेफ्रि सुदिस कुमार पाण्डेले रेडकार्ड देखाएपछि सुरु भएको विवादका क्रममा खेलाडीबीच नै कुटाकुट भएको थियो। लगतै उपस्थित अधिकांश दर्शक समेत मैदानमा छिरेर आर्मीका खेलाडीमाथि कुटपीट गर्न थालेपछि आयोजक समितिका स्वयंसेवक र सुरक्षाकर्मीले मैदानबाट भिड तितरवितर पारेपछि आधाघण्टा पछि आर्मीका खेलाडी मैदानभित्र छिर्ने बितिकै रेफ्रि पाण्डेले आर्मीका १ नम्बर जर्सीका गोलकिपर विकास कुथु, २७ नम्बरका विकास तामाङ र ३२ नम्बरका दिपक गुरुङलाई रेडकार्ड देखाएका थिए।

लगतै आर्मीका कप्तान भरत खबास सहितका खेलाडी कल गर्नका लागि रेफ्रितर्फ बढ्दै गर्दा आयोजक समितिका पदाधिकारी मैदानभित्रै छिरेर रोक्न खोजेपछि आर्मीका खेलाडी र आयोजक समितिका पदाधिकारीबीच नै भनाभन भएको थियो। त्यसपछि आर्मीका खेलाडी मैदान छाडेर हिँडेपछि आयोजकले खेल स्थगित गरेका थिए।

आर्मी सर्लाही–११ र सरस्वती युवा क्लब काठमाडौंलाई हराउँदै फाइनलान पुगेको थियो भने सुदूरपश्चिमले जावलाखेल क्लब ललितपुर र ब्वाईज युनियन काठमाडौंलाई पराजित गर्दै उपाधीको होडमा पुगेको थियो।

५ लाखनगद सहित सुन र चाँदी समेत प्रयोग गरेर ४ लाख रुपैयाँ लागतमा बनाइएको कलात्मक राजर्षि जनक कप प्रतियोगितामा फाइनल पुग्ने आर्मी र सुदूरपश्चिम बाहेक दुईवटा विदेशी टिम भुटानको ड्रक स्टार र भारतको स्काई क्रेस्ट ब्वाइज मुम्बई क्लब एवं मुलुकका नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरस्वती युवा क्लब, जावलाखेल क्लब, ब्वाईज युनियन र सर्लाही–११ समेतको सहभागिता रहेको थियो।

प्रकाशित: १८ चैत्र २०७४ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App