coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

घरेलु टोलीको विजयी सुरुआत

मोरङ – विराटनगरमा शनिबार सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा घरेलु टोली मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबमाथि २–० को नतिजा निकालेको छ।

सहिद रंगशालामा शनिबार भएको उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि मध्यान्तरपछि मोरङ–११ ले नतिजा हात पार्याे । दोस्रो हाफमा नतिजा खोज्न दुवै टोली आक्रामक रूपमा प्रस्तुत भए पनि सफलता मोरङको पक्षमा रह्यो । ६०औं मिनेटमा मोरङ–११ का भुवन बस्नेतले रिबाउन्डमा आएको बललाई सदुपयोग गर्दै टोलीको खाता खोले। 

गोल खाएपछि थिम्पुले बाँकी समयमा खेलमा फर्कन केही सुन्दर मौका सिर्जना गर्याे, तर गोल गर्न सकेन । दोस्रो हाफको अतिरिक्त समयमा नाइजेरियन खेलाडी पिउसको पासमा मोरङका निशान लिम्बुले उत्कृष्ट गोल गर्दै काउन्टर अट्याकको मुभलाई गोलको क्लाइमेक्स दिए । बाँकी समयमा अरू गोल हुन सकेन र खेल मोरङले २–० को अन्तरमा जित्यो । जितसँगै घरेलु टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

मोरङका प्रशिक्षक पारस चौधरीले प्रदर्शनमा सन्तुष्टि जनाए पनि नतिजामा भने खुसी हुन नसकेको प्रतिक्रिया दिए । ‘आज हामीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेका थियौं । त्योअनुसार जितअन्तर अलि फराकिलो हुनुपर्ने थियो । तर प्रदर्शनअनुसारको नतिजा आउन सकेन,’ प्रशिक्षक चौधरीले भने, ‘अलि धेरै गोल हुनुपर्ने थियो । तर पाएका अवसरमा गोल गर्न नसक्दा हामी साँघुरो जितमै चित्त बुझाउन बाध्य भयौं । तथापि विजयी सुरुआत महत्वपूर्ण कुरा हो । आगामी खेलमा आजका कमजोरी सुधार्दै मैदान उत्रिनेछौं।’

पराजित भुटाने टोली थिम्पुका प्रशिक्षक चङ्चुक दोर्जीले पनि प्रदर्शनअनुसार नतिजा आउन नसकेको प्रतिक्रिया दिए । ‘खेलाडीले सोचेअनुरूपकै प्रदर्शन गरेका हुन् । तर त्योअनुसार नतिजा हात पार्न नसक्नु दुर्भाग्यपूर्ण रह्यो,’ दोर्जीले भने । खेलमा मोरङका निशान लिम्बुले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे। 

प्रतियोगितामा आइतबार संकटा फुटबल क्लब र भारतको मोहम्मडन  स्पोर्टिङ क्लबीच खेल हुनेछ । विराट गोल्ड कप प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा भारत, भुटान र नेपालका गरी १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल चैत २६ गते हुनेछ।

प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, मिडफिल्डर, रक्षक, फरवार्ड र सर्वाधिक गोल गर्ने खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ  । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ हात पार्नेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ। 

 

प्रकाशित: १८ चैत्र २०७४ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App