१६ चैत्र २०८० शुक्रबार
खेल

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

उदयपुर–  कटारीमा सम्पन्न ‘चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता ०७४’ को उपाधि झापा ११ ले चुमेको छ। शनिबार सम्पन्न गोल्डकपको फाइनल खेलमा टाइब्रेकरबाट झापाले ४–२ गोलको फरकले संकटा क्लब काठमाडाैंलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। झापा ०७१ मा सम्पन्न प्रथम कटारी गोल्डकपको पनि उपाधि विजेता हो।

झापाको तर्पmबाट किक हान्ने मौका पाउने खेलाडीहरुमध्ये देबेन्द्र तामाङ, प्रवेश गुरुङ, कर्ण लिम्बु र विशाल गुरुङको प्रहारले जाली चुम्न सफल भयो। प्रतिस्पर्धी समूह शंकटाको तर्फबाट भने खेलाडीहरु सौजन राई र हेमन्त थापामगरले गरेको प्रहार मात्र सफल भयो । झापाका एक र शंकटाका दुई खेलाडीको प्रहार खेर गयो। 

निर्धारित ९० मिनटको खेल अवधिभर दुवैपक्षबाट दर्जनौं पटकको कोसिसका बाबजुद गोल हुन नसकेपछि आधा घण्टा समय थपिएको थियो। तर, ३० मिनटको समय पनि गोलरहित सकिएपछि खेल टाईब्रेकरमा धकेलिन पुगेको थियो। विजेता समूह झापा ११ ले ५ लाख नगद, ट्रफि र प्रमाणपत्र हात पारेको छ। प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले विजेता समूहका टिम क्याप्टेन र अफिसियललाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे। त्यस्तै उपविजेता शंकटाले २ लाख ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र पाएको छ। शंकटालाई आयोजक समितिका अध्यक्ष विनोद कटुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका विशाल गुरुङ घोषित भए। उनलाई माउन्टेन बाईक उपहार प्रदान गरियो। उत्कृष्ट गोलरक्षकको पुरस्कार झापाकै मनोज प्रधानले पाए। बेस्ट डिफेन्डरको उपाधि शंकटाका सुरज विक घोषित भए भने बेस्ट मिडफिल्डरको उपाधिद्वारा शंकटाका विश्व अधिकारी पुरस्कृत भए। 

त्यस्तै शंकटाकै नाईजेरियन खेलाडी टम्पी अर्नेस्ट हाईस्कोरर सावित भए भने झापाका विकास गुरुङलाई म्यान अफ द सिरिजको उपाधि मिल्यो। प्रतियोगिताको उद्घाटन खेलमै झापाबाट पराजित हुन पुगेको घरेलु टिम कटारी ११ लाई खेलाडी प्रताप राईको राईजिङ प्लेयर उपाधिले सान्त्वना मिल्यो। 

विधागततर्फ विजेता खेलाडीहरुलाई आयोजक समितिका उपाध्यक्ष शत्रुधन कार्की, समाजसेवी चन्द्रबहादुर तामाङ र अन्य अतिथिहरुले मोवाईल उपहार र मेडल तथा प्रमाणपत्र प्रदान गरियो। कटारी नगरपालिकाको प्रायोजना र स्थानीय साथी समूहको संयोजनमा कटारीस्थित टाईगर खेलमैदानमा भएको प्रतियोगिताका लागि सहयोग गर्ने सम्पूर्ण कार्यालय, संघसंस्था तथा व्यक्तिलाई समापन कार्यक्रमको अवसरमा मायाको चिनो प्रदान गरिएको थियो। 

प्रकाशित: १७ चैत्र २०७४ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App