१६ चैत्र २०८० शुक्रबार
खेल

उपाधि रक्षा गर्ने लक्ष्य

काठमाडौं – राष्ट्रिय खेलको पगरी पाएसँगै गतिविधिमा व्यापकता दिएको नेपाली भलिबलका लागि वर्ष २०७५ को सुरुआत निकै महत्वपूर्ण रूपमा आउने भएको छ।

गत वर्ष पुरुषतर्फ दशकौंको अन्तर्राष्ट्रिय पदक खडेरीमा पूर्णविराम लगाउँदै एभिसी सेन्ट्रल जोन सिनियर एसियन पुरुष च्याम्पियनसिपमा कांस्य पदक जितेको नेपाली राष्ट्रिय टोली कम्तीमा त्यो उपपलब्धि रक्षा गर्ने लक्ष्यका साथ वैशाखमा ढाका यात्रामा निस्कने तयारीमा छ्। वैशाख ८ देखि १६ गतेसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगिताको चौथो संस्करणका लागि टोली अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा अन्तिम चरणको तयारीमा व्यस्त छ।

‘अघिल्लो संस्करणमा आयोजक बंगलादेशलाई उसैको कोर्टमा स्तब्ध पार्दै कांस्य पदक जितेका थियौं। यसपालि अझै माथिल्लो उपलब्धिको लक्ष्यमा तयारी गरिरहेका छौं,’ राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले भने, ‘यसपालि जसरी पनि पदक ल्याउने आशामा छौं। सामान्य प्रशिक्षणबाट अघिल्ला संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको टोलीले यसपालि लामो प्रशिक्षण गरेको छ।’

‘हामी निरन्तर अभ्यासमा छौं। तर उक्त प्रतियोगितामा खेल्नुपर्ने जस्तो हल हामीसँग छैन। हलको लाइट, म्याट मिलेको छैन। यस्तो सामान्य कुरामा हामी पछि पर्छौं। विदेशमा खेल्ने व्यवस्था गरे पदक जित्न हाम्रो टोली योग्य छ।’

अघिल्ला भेटमा बंगलादेश, माल्दिभ्स र अफगानिस्तानलाई हराएको इतिहासबाट आशावादी भट्ट लगातारको च्याम्पियन किर्गिस्तानसँग पाँच सेटसम्म खेलेको अनुभवले आत्मविश्वास थपिएको बताउँछन्। ‘त्यति बेला ब्लक र रिसिभमा कमजोरी भएको थियो। यसपालि हामीले त्यसलाई विशेष ध्यान दिएका छौं, समग्रमा अहिले टिम सबै पक्षमा अब्बल भएको छ। प्रशिक्षणबाट यसपालि नयाँ ३/४ जना खेलाडी टिममा पर्ने सम्भावन बढी छ,’ भट्टले थपे।

प्रशिक्षक उत्साहित भइरहनुमा पछिल्लो समय भलिबलमा गतिविधि थुप्रै हुनु पनि हो। राष्ट्रिय खेलको मान्यतासँगै थुपै्र प्रतियोगिता हुँदा खेलाडीले अनुभव निखार्ने अवसर पाउन थालेका छन्। खेलको लोकप्रियता उचालिएसँगै ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि भलिबलप्रति आकर्षित हुन थालेका छन्। तर अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्ने क्रममा भोग्ने समस्या भने दशकअघिभन्दा केही फरक नपरेको खेलाडीको गुनासो छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा त्यहीअनुसारको प्रशिक्षण स्थल नहुनु नेपाली टोलीको सबभन्दा ठूलो समस्या हो। राष्ट्रिय टोलीका कप्तान इम राना गत वर्ष बंगलादेशमै हासिल गरेको उपलब्धिमा सुधार गर्ने योजना रहेको बताउँछन्। त्यसका लागि उपलब्ध समय र सुविधामा कडा मिहिनेतका साथ तयारी गरिरहेको उनको भनाइ छ। 

‘यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुपूर्व १५/१६ दिनको मात्र प्रशिक्षण हुन्थ्यो। तर वैशाखमा हुने च्याम्पियनसिपका लागि २ महिनाअघिदेखि प्रशिक्षण सुरु गरिएको छ,’ राना भन्छन्, ‘तयारी राम्रो भइरहेको छ। तर प्रशिक्षण गर्ने हलको समस्या छ। बत्ती र म्याटले खेलमा धेरै असर पार्छ। देशभित्र अभ्यासका लागि अन्तर्राष्ट्रिय मापदण्डको कोर्ट नभएपछि प्रतियोगितामा हामीले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सक्दैनौं।’ 

पछिल्ला समय भएका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बलराम क्षत्री, प्रज्वलबहादुर सिंह र भट्ट रहेको प्रशिक्षक टोलीले २५ खेलाडी बन्द प्रशिक्षण सिविरमा बोलाएका छन्। बन्द प्रशिक्षणमा रहेकामध्ये १० नयाँ अनुहार छन्। यसै महिनाको अन्तिमसम्ममा टोलीको अन्तिम टुंगो लगाउने प्रशिक्षकहरूले बताएका छन्। प्रशिक्षणमा रहनेमा त्रिभुवन आर्मी क्लबबाट ९, एपिएफ र नेपाल पुलिस क्लबबाट ६/६, सुदूर पश्चिमबाट ३ र पश्चिमाञ्चलबाट १ खेलाडी छन्। 

प्रतियोगितामा नेपालले लगातारको च्याम्पियन किर्गिस्तान, कजाखस्तान, ताजकिस्तान, तुर्कमिनिस्तान, बंगालदेश, अफगानिस्तान, भुटान र माल्दिभ्स गरी ९ राष्ट्रले सहभागिता जनाउँदै छन्। सबै प्रतिद्वन्द्वीले सुविधासम्पन्न हलमा अभ्यास गरेर आउने र आफूहरूचाहिँ कमजोर पूर्वाधारमा खेलेर जाँदा प्रतियोगितामा प्रभाव पर्ने बताउँदै कप्तान रानाले देशभित्र राम्रो हल नहुँदा वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने सुझाव दिए।

‘हामी निरन्तर अभ्यासमा छौं । तर उक्त प्रतियोगितामा खेल्नुपर्ने जस्तो हल हामीसँग छैन। हलको लाइट, म्याट मिलेको छैन । यस्तो सामान्य कुरामा हामी पछि पर्छौं। विदेशमा खेल्ने व्वस्था गरे पदक जित्न हाम्रो टोली योग्य छ’, कप्तान राना दाबी गर्छन्।

नेपाल भलिबल संघको विशेष पहलमा अनुभव बटुल्न अघिल्लो महिना नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि हङकङ र मकाउको भ्रमण गरेको थियो। हङकङविरुद्ध दुई तथा मकाउसँग खेलेको एक मैत्री खेलमा नेपालले जित हासिल गरेको थियो। मैत्रीपूर्ण खेलअन्तर्गत हङकङसँगको पहिलो खेल चार सेटसम्म संघर्ष गर्दै २५–१६, २५–१४, २६–२८, २७–२५ ले नतिजा आफ्नो पक्षमा पार्दा दोस्रो मैत्रीपूर्ण खेल भने ३–२ को सेटमा जितेको थियो। हङकङको यान चाउ कोक स्पोटर््स सेन्टरमा २३–२५, २८–२६, २५–२१, २१–२५, १७ –१५ को सेटमा पराजित गर्दै हङकङसँगको मैत्रीपूर्ण सिरिजमा क्लिन स्विप गर्न सफल भएको थियो। यस्तै, मकाउसँगको मैत्रीपूर्ण खेल भने नेपालले ३–० को सोझो सेटमा नतिजा आत्मसात् गरेको थियो। मकाउविरुद्ध युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाली टोलीले २५–१३, २५–१७, २५–१७ ले खेल आफ्नो पक्षमा पार्दै हङकङ यात्रा उपलब्धिमूलक बनाएको थियो।

प्रकाशित: १६ चैत्र २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App