७ वैशाख २०८१ शुक्रबार
खेल

दोस्रो राजर्षि जनककप : आर्मी उपाधि नजिक

सर्लाही– सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनककप नकआउट फूटबल प्रतियोगिताअन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा सरस्वती युवा क्लब काठमाडौंलाई २–१ ले पराजित गर्दै नेपाल आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। अत्यन्त प्रतिष्पर्धामत्क खेलमा जीतसँगै आर्मी उपाधि नजिक पुगेको छ।

चार जना राष्ट्रिय खेलाडी लिएर मैदानमा उत्रिएको आर्मीका लागि कप्तान प्रिन्स कार्कीले २४औं मिनेटमा खाता खोल्दै खेललाई १–० को स्थितीमा पु-याए। भरत खबास मैदानबाट बाहिरिएपछि कप्तानी पाएको ३ मिनेटमै कार्कीले नवयुग श्रेष्ठको पासमा आर्मीका लागि गोल गरेका हुन्।

आर्मीका खेलाडीले फल गरेपछि डिबक्स नजिकबाट सरस्वतीका योगेश गुरुङले प्रहार गरेको फ्रि किक बललाई अफ्रिकन खेलाडी पुयोस हेनरीले सानदार हेड गोल गर्दै ३४औं मिनेटमा खेललाई बराबरीमा पु-याए।

पूर्वार्धमा आर्मीले एकोहोरो पेलेपनि उत्तरार्धमा भने सरस्वतीका खेलाडीले समेत आक्रमक खेल्दा खेल अत्यन्त प्रतिष्पर्धात्मक देखिएको थियो। इन्जुरी टाईमको १ मिनेट बाँकी छँदा आर्मीका कप्तान कार्कीले पुनःअर्को गोल थप्दै टीमलाई उपाधिको होडमा उभ्याए। २ गोल गर्ने आर्मीका कार्की खेलको म्यान अफ दिम्याच घोषित हुँदै नगद १० हजार हात पारे।

प्रथम संस्करणको फाइनलमा मनाङ मर्स्याङदी क्लब काठमाडौंसँग हारेर प्रथम उपाधि गुमाएको आर्मी दोस्रो संस्करणमा समेत फाइनलमा पुगेको छ। अब शनिबार हुने उपाधि होडको फाइनल प्रतिस्पर्धामा उसको भेट सुदूरपश्चिम–११ सँग हुनेछ।

उपाधि विजेताले ४ लाख रुपैंया लागतमा निर्माण गरिएको रनिङ शिल्डसहित नगद ५ लाख रुपैंया तथा दोस्रो हुनेले ३ लाख रुपैंया नगद प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०७४ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App