coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भक्तपुरलाई चुनाव गर्न निर्देशन

काठमाडौं – भक्तपुरका तीनवटा क्लबले जिल्ला फुटबल संघमाथि दायर गरेको मुद्दा फिर्ता लिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला संघलाई यही चैत २७ भित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ।

भक्तपुर फुटबल क्लब, भक्तपुर यनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्रले जिल्ला फुटबल संघविरुद्ध आफूहरूलाई समावेश नगरी निर्वाचन गरेको भन्दै माघ ३ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। जसका कारण माघ ५ मा हुने तय भएको भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो। जिल्लामा निर्वाचन नभएका कारण बुधबारलाई तय भएको एन्फा केन्द्रीय निर्वाचनमा आफूले प्रतिनिधित्व जनाउन नपाउने भएपछि भक्तपुर जिल्ला फुटबल संघले एन्फाविरुद्ध उच्च अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। जसमा उच्च अदालतले गत साता तत्कालका लागि निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई बाटो म्यादबाहेक १५ दिनभित्र लिखित जबाफ दिन निर्देशन दिएपछि एन्फाको साधारणसभा रोकिएको थियो।

एन्फाकै साधारणसभा रोकिएपछि मंगलबार भक्तपुरका तीन क्लबले जिल्ला संघविरुद्ध राखेको मुद्दा फिर्ता लिएका थिए। क्लबले मुद्दा फिर्ता लिएपछि एन्फाले स्थगित भएको केन्द्रीय निर्वाचनको प्रक्रिया सुरु गर्ने क्रममा भक्तपुरलाई चुनाव गर्न निर्देशन दिएको अध्यक्ष नरेन्द्र श्रेष्ठले बताएका छन्। 

‘क्लबहरूले मुद्दा फिर्ता लिएको कागज प्राप्त भयो । त्यसैका आधारमा हामीले २७ गतेभित्र चुनाव गर्न पत्राचार गरेका छौं। विवाद भएको अर्को जिल्ला मकवानपुरमा पनि २७ गतेभित्र चुनाव भइसक्छ,’ श्रेष्ठले त्यसपछि तत्काल केन्द्रको निर्वाचन गर्ने बताउँदै भने, ‘त्यसपछि हामी अदालतमा जबाफ दिन जान्छौं। मुद्दा हाल्ने सम्बन्धित जिल्लामा चुनाव भइसकेपछि अदालतबाट चुनाव गर्ने बाटो खुल्छ। अबको एक महिनाभित्र चुनाव सम्पन्न भइसक्ला।’

बुधबार साधारणसभा गर्नका लागि सूचना प्रकाशित गरिसकेको र साधारणसभा स्थगित मात्र भएकाले अदालतबाट बाटो खुलेको १५ दिनपछि केन्द्रीय चुनाव गर्न सकिने श्रेष्ठको भनाइ थियो। ‘अहिले स्थगित भएको हो। त्यसैले साधारणसभाको नयाँ प्रक्रियामा जानु पर्दैन। निर्वाचन समितिले १५ दिन मागेको छ। त्यही समयमा चुनाव हुन्छ,’ श्रेष्ठले भने।

साधारण सभा बोलाउनका लागि नियमित भए ६० दिन विशेष भए ४० दिनपूर्व सुचना प्रकाशित गर्नुपर्ने वैधानिक व्यवस्था छ।

प्रकाशित: १५ चैत्र २०७४ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App