८ वैशाख २०८१ शनिबार
खेल

फिलिपिन्समा फुटबलले गति लिने आशा

मनिला – फिलिपिन्सका कप्तान फिल योङ हसब्यान्डले बुधबार आफूहरू सधैं बास्केटबल खेलको छायामा परे पनि ऐतिहासिक रूपमा एसियन कपलाई छनोट भएपछि देशभित्र फुटबल खेलले गति लिने आशा व्यक्त गरेका छन्।

फिलिपिन्सले मंगलबार उत्कृष्ट पुनरागमनमा ताजकिस्तानमाथि २–१ को जित हात पार्दै एएफसी एसियन कप फुटबल छनोट प्रतियोगिता समूह ‘एफ’ को विजेताको रूपमा छनोट भएको हो। ६ खेलमा १२ अंक जोडेको फिलिपिन्स समूह विजेता बन्दा मंगलबारै सम्पन्न अर्को खेलमा नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको यमन १० अंक जोड्दै समूह उपविजेताका रूपमा एसियन कपमा छनोट भयो। समान खेलमा ७ अंक जोड्दै तेस्रो स्थानमा बसेको ताजकिस्तान र २ अंकका साथ अन्तिम स्थानमा बसेको नेपालको यात्रा समूह चरणमा सीमित भयो।

‘जब कुनै खेलमा तपार्इंले सफलता हासिल गर्नुहुन्छ, तब मानिसहरू त्यही खेलको बारेमा चर्चा गर्न मन  पराउँछन्। हामी फुटबलमा पाएको यो सफलतालाई निरन्तरता दिन चाहन्छांै,’ फिलिपिन्सबाट  ५०औं अन्तर्राष्ट्रिय खेल खेलेका योङहसब्यान्डले भने, ‘यो फिलिपिन्समा फुटबल विकासको संकेत हो। पछिल्लो आठ वर्षमा कुनै सफलता हात नपार्दा मानिसहरूको यस खेलप्रति रुचि घटेको थियो।’

सन् २०१० मा एएफएफ सुजुकी कपको सेमिफाइन प्रवेश गरेसँगै बास्केटबललाई नै धर्म मान्ने फिलिपिन्समा फुटबल खेलले पनि गति लिने अनुमान गरिएको थियो। तर त्यसपछिका दिनहरूमा लगातारको निराशाजनक नतिजापछि फुटबल खेलले सोचेअनुरूप सफलता हात पार्न सकेको थिएन।

‘यो मेरो फुटबल जीवनकै सुखद दिन हो। यो सम्पूर्ण देशको भावनासँग जोडिएको छ,’ उनले भने, ‘हामी एसिया कपमा छनोट भइसकेका छौ। त्यहाँ हात पारेका उपलब्धि हाम्रा लागि बोनस हुनेछन्।’

प्रकाशित: १५ चैत्र २०७४ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App