१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिट: शिवराज र निशा उत्कृष्ट खेलाडी

एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।शिव पुरुष तथा निशा महिलामा तर्फ उत्कृष्ट खेलाडी बनेका हुन्।

शिवले १ सय र २ सय मिटर दौडमा स्वर्ण तथा ४ गुणा १ सय मिटर रिलेमा रजत जितेका थिए । निशाले १ सय र २ सय मिटर दौड तथा लङजम्पमा स्वर्ण जितेकी थिइन।

एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको २ सय मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेन्डमा पूरा गरे। वीरगन्जका आदेशकुमार यादवले रजत तथा एपीएफका आशिष चौधरीले कांस्य हात पारे। सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड समय खर्चिन ।आर्मीका कलेशी चौधरी र सरस्वती थारु क्रमशः दोश्रो र तेस्रो स्थानमा रहे।

पुरुष ८ समय मिटर दौडमा आर्मीका सुनिल सुनार पहिलो भए। उनले १ मिनेट ५७.८६ सेकेन्ड समय  लगाए। आर्मीकै अक्कलबहादुर पाल दोश्रो तथा एपीएफका सञ्जीव नेपाली तेस्रो बने। उक्त स्पर्धाको महिलामा एपीएफकी आशा रावत पहिलो भइन्। आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन्। आर्मीका रेखा लिम्बू दोश्रो तथा नवीना थापा तेस्रो भए।

दुई दिने प्रतियोगितामा ५ सय ७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन्। अध्यक्ष खत्रीका अनुसार नेपाली एथलेटिक्समा सबै भन्दा बढी स्पर्धा समावेश गरिएको यो पहिलो प्रतियोगिता हो।

प्रकाशित: ४ असार २०८१ २०:१९ मंगलबार