coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोन्टेद्वारा टोलीको निरीहता स्वीकार

म्यानचेस्टर – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलमा आफ्नो टोली निरीह देखिएको स्विकारेका छन्।

घरेलु इत्तिहाद रंगशालाको मैदानमा सम्पन्न खेलमा बर्नाडो सिल्भाको गोल निर्णायक साबित हुँदा सिटीले १–० को जित हात पार्दै शीर्ष स्थानमा अग्रता १८ अंकले फराकिलो पार्न सफल भएको थियो।

२९ खेलमा सिटीले ७८ अंक जोडेको छ । समान खेलमा ६० अंक जोडेको लिभरपुल दोस्रो र एक खेल कम खेल्दै ५९ अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छन् । त्यस्तै ५८ र ५३ अंक जोडेका टोटेनह्याम र चेल्सी क्रमशः चौथो र पाँचौं स्थानमा छन् । पछिल्लो ५ लिग खेलमा चेल्सीको यो चौथो हार हो।

स्ट्राइकर अल्भारो मोराटा र ओलिभर जिरौडलाई बेन्चमा राखेको खेलमा कोन्टेको टोलीले सिटीको पोस्टमा सम्झनलायक एउटा  आक्रमण पनि बुन्न सकेन।

‘आज सिटीले जारी सिजन हामी र उनीहरूबीचको भिन्नता प्रमाणित ग¥यो,’ कोन्टेले भने, ‘हामी शीर्ष टोलीभन्दा २५ अंकले पछि परिसकेका छौं । यो निकै ठूलो अन्तर हो । सिटीले उत्कृष्ट लय र मानसिकताका साथ खेलिरहेको छ । जब कुनै टोली मानसिक रूपमा समेत खेलमा हाबी बन्छ, तब त्यसलाई रोक्न असम्भव हुन्छ।’

मध्यान्तरपछिको पहिलो मिनेटमै सिल्भाले गरेको गोल निर्णायक बन्दा सिटी साबिक विजेताविरुद्ध तीन अंक जोड्न सफल भएको थियो । सिल्भाले डेविड सिल्भाको पासलाई पोस्टको दिशा दिएका थिए । जारी सिजन उनको यो सातौं गोल हो।

सिटीलाई जारी सिजन प्रिमियर लिग उपाधि पक्का गर्न बाँकी ९ खेलमा ४ जित मात्र पनि पर्याप्त बन्नेछ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबले लिएको अग्रताबाट आफू नै अचम्मित भएको बताए।

‘१८ अंकको अग्रता, यो कसले विश्वास गर्नेरु,’ ग्वार्डिओलाले भने, ‘खेलाडीलाई समेत यसको जबाफ थाहा छैन।’
‘चेल्सी उत्कृष्ट टोली हो र उनीहरुविरुद्धको खेल सधैं कठिन हुने गर्दछ,’ ग्वार्डिओलाले थपे, ‘तर आज हामी सुरुआतबाटै उत्कृष्ट लयमा देखियौं र खेल अवधिभर उनीहरूलाई नियन्त्रणमा राख्यौं । टोलीले फेरि एक पटक जितका लागि आतुर छौं भन्ने पुष्टि ग¥यौं।’

खेल सकिन १२ मिनेट बाँकी हुँदा विलियानको स्थानमा जिरौड र अन्तिम मिनेटमा इडेन हाजार्डको स्थानमा मोराटालाई मैदान उतारे पनि कोन्टेको टोलीले नतिजा परिवर्तन गर्न सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस अलोन्सोको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा चेल्सीले खेलमा फर्कने अवसर गुमाएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७४ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App