७ वैशाख २०८१ शुक्रबार
खेल

खेलमा ध्यान केन्द्रित गर्न सुझाव

बर्लिन – बायर्न म्युनिखका प्रशिक्षक जप हेनिक्सले स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सुझााव दिएका छन्।

यस सिजनको अन्त्यपछि पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्की स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने खबर सार्वजनिक हुँदै आएको छ । साथै हेनिक्सले गत साता अभ्यासमा लेवान्डोवस्की र टिम सहयात्रीबीच भएको भनिएको विवादको खबरमा कुनै सत्यता नभएको समेत बताएका छन्।

‘मलाई उनको सरुवाका बारेमा केही थाहा छैन  । मलाई यो हल्ला मात्र हो वा उनको चाहना केही थाहा छैन,’ हेनिक्सले भने, ‘म उनलाई बाहिर चलेको निराधार हल्लाभन्दा पनि आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सुझाव दिन चाहन्छु । यदि म बायर्नको खेलाडी भइदिएको भए म कहिल्यै पनि अन्यत्र सरुवाका बारेमा सोच्ने थिइनँ, किनभने बायर्न युरोपकै एक उत्त्कृष्ट र सफल क्लब हो ।’
लेवान्डोवस्कीले समेत बारम्बार रियाल जाने खबरमा कुनै सत्यता नभएको बताउँदै आएका छन् । उनको बायर्नमा सम्झौता सन् २०२१ सम्म छ।

लेवान्डोवस्कीले जारी सिजन सबै खाले प्रतियोगिता गरी २९ गोल गरिसकेका छन् । बुन्डेसलिगाको शीर्ष क्लब बायर्नले आइतबार फ्रेइबर्गको सामान गर्नेछ।

हेनिक्सले गत बुधबार लेवान्डोवस्की र जर्मन रक्षक म्याट्स ह्युमेल्सबीच अभ्यासका क्रममा विवाद भए पनि सञ्चारमाध्यममा आएजस्तो हात हालाहालको स्थिति भने नआएको बताए । जर्मन सञ्चारमाध्यमले ह्युमेल्सले लेवान्डोवस्कीमाथि ‘खराब चरित्र’ को आरोप लगाएपछि  विवाद भएको जनाएका थिए।

‘लेवान्डोवस्की र ह्युमेल्सबीच विवाद भएको सत्य हो, तर सञ्चारमाध्यमले जसरी उनीहरूबीच हात हालाहाल भएको खबर सार्वजनिक गरेका छन्, त्यसमा कुनै सत्यता छैन । एउटा खेलाडीले सधैं अर्का खेलाडीको सम्मान गर्नुपर्छ । उनीहरूबीच सामान्य विवाद भए पनि त्यो विवाद त्यहीं समाप्त भएको थियो।’
 

प्रकाशित: २० फाल्गुन २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App