७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल जिम्बाब्वेसँग भिड्दै, गल्ती गर्ने छुट छैन

काठमाडौं – आइसिसी विश्वकप छनोटमा नेपालले आइतबार (आज) बाट घरेलु टोली जिम्बाब्वेविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्ने भएकाले नेपाललाई आइतबार कुनै गल्ती गर्ने छुट हुनेछैन।

खेल नेपाली समयअुसार दिउँसो सवा एक बजेपछि जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा सुरु हुनेछ।
१९९२ जुलाईमा टेस्ट मान्यता पाएको जिम्बाब्वे २००५ देखि २०११ को बीचमा बाहेक लगातार टेस्ट क्रिकेट खेलिरहेको छ  टेस्ट राष्ट्रको वरीयतामा पुछारमा रहेपछि विश्वकप छनोट प्रतियोगिता खेल्नुपरेको जिम्बाब्वेले घरेलु मैदान र समर्थकको फाइदा उठाउन सक्छ।

‘घरेलु मैदान र समर्थकको साथ पाउनु हाम्रो लागि विशेष हो । मैले यहाँ २००३ को विश्वकप खेलेको थिएँ, त्यति बेला हामीले धेरै राम्रो पनि गरेका थियौं । त्यसैले घरेलु मैदान र समर्थकमाझ खेल्न रोमाञ्चक हुनेछ,’ जिम्बाब्वेका मुख्य प्रशिक्षक हेथ स्ट्रिकले आइसिसीसँग भनेका छन्, ‘मलाई लाग्छ यहाँको विकेटले हाम्रो बलिङ आक्रमणलाई सहयोग गर्नेछ । हामीसँग तीव्र गतिका राम्रा बलर छन् । क्विन्स स्पोटर्स क्लब ब्याटिङ पिच हो र यहाँ हाम्रा ब्याट्सम्यान अभ्यस्त छन्।’

घरेलु मैदान र समर्थकको साथ जिम्बाब्वेलाई हुने हुँदा त्यसको दबाब नेपालमाथि पर्नु स्वाभाविक हो । तर, प्रतियोगितामा नेपाल अविश्वसनीय टोलीको रूपमा हुनेछ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा हात पारेका केही अविश्वसनीय नतिजाले नेपालको मनोबल बढाएको छ । प्रतियोगिताअघिको अभ्यास खेलमा पनि नेपालले युएईलाई अन्तिम ओभरमा ५ विकेटले पराजित गरेको थियो।

‘दबाब हामीलाई भन्दा ठूलो टोलीलाई बढी हुन्छ । डिभिजन २ मा गरेको प्रदर्शनलाई दोहो¥याउन सक्यौं भने यो प्रतियोगितामा पनि राम्रो नतिजा हासिल गर्न सक्छौं।’

‘दबाब हामीलाई भन्दा ठूलो टोलीलाई बढी हुन्छ,’ बुलाबायोस्थित क्विन्स स्पोटर्स क्लबमा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालका कप्तान पारस खड्काले थपे, ‘हामी निरन्तर क्रिकेट खेलिरहेका छौं । घरेलु प्रतियोगिता इपिएल (एभरेस्ट प्रिमियर लिग) र विश्व क्रिकेट लिग डिभिजन २ खेलेका थियाैं । जुन सरकारात्मक पक्ष हो । डिभिजन २ मा गरेको प्रदर्शनलाई दोहो¥याउन सक्यौं भने यो प्रतियोगितामा पनि राम्रो नतिजा हासिल गर्न सक्छौं।’

ब्याटिङमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि बलिङ र तल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दा नेपाल जिम्बाब्वेको टिकट काट्न सफल भएको थियो । डिभिजन–२ मा समूह चरणका पाँचमध्ये १ हार र ४ खेलमा विजय हासिल गर्दै शीर्ष स्थानमा रहेको फाइनलमा युएईसँग पराजित भएको थियो । नेपालले घरेलु टोली नामिबिया र क्यानडासँग अन्तिम ओभरमा समान १ विकेटको नतिजा निकालेको थियो । कप्तान पारसले २०१४ को ट्वान्टी–२० विश्वकपपछि खेल्न लागेको यो सबैभन्दा माथिल्लो स्तरको प्रतियोगिता भएकाले राम्रो नतिजा निकाल्न टोलीको सबै पक्षले राम्रो गर्नुपर्ने बताए।

‘हाम्रो समूहमा सबै टोली बलिया छन् । तर, उनीहरूको चुनौती सामना गर्न तयार छौं । क्रिकेट खेल हो । यहाँ अन्तिम बलसम्म नतिजा कसको पक्षमा जान्छ भन्न सकिन्न । टोलीमा क्षमतावान् खेलाडी छन् र सबैले क्षमताअनुरूप प्रदर्शन गरे जुनसुकै टोलीलाई पनि चुनौती दिन सक्षम छौं,’ कप्तान पारसले थपे, ‘तर, त्यसका लागि हाम्रो कुनै एक पक्ष मात्र बलियो भएर हुँदैन । यो स्तरमा खेल्दा हामीलाई गल्ती गर्ने छुट हुँदैन । यहाँ कुनै बहानाबाजी चल्दैन । तीनै पक्ष (बलिङ, ब्याटिङ र फिल्डिङ)ले राम्रो गर्नु आवश्यक छ।’

१९९७ मा पहिलो पटक विश्वकप खेलेको जिम्बाब्वेले त्यसपछि लगातार क्रिकेटको सबैभन्दा ठूलो उत्सवमा सहभागिता जनाउँदै आएको छ । सहभागिता जनाउन थालेपछिको पछिल्लो तीन संस्करणमा समूहचरणबाटै बाहिरिएको जिम्बाब्वे १९९९ र २००३ मा सुपर सिक्स खेल्न सफल भएको थियो । त्यसपछिका बाँकी संस्करण भने जिब्बाब्वेका लागि सुखद हुन सकेको छैन । आइसिसीले यो संस्करणबाट १० टोलीले मात्र विश्वकप खेल्न पाउने नयाँ नियम लागू गरेको छ । त्यसअघि २०११ र २०१५ मा १४ टोलीको सहभागिता थियो भने २००७ मा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । जिम्बाब्वेका प्रशिक्षक स्ट्रिकले भने प्रतियोगितामा १० टोलीको मात्र सहभागिता हुने हुनाले विश्वकपमा छनोट हुनु आफ्ना लागि विशेष हुने बताए।

‘दश टोलीको मात्र सहभागिता रहने हुनाले विश्वकप क्रिकेट २०१९ मा छनोट हुनु ठूलो उपलब्धि हुनेछ । अघिल्ला संस्करणहरूमा हामीले निरन्तर सहभागिता जनाउँदै आएका छौं । खेलाडीले आफ्नो करियरका लागि पनि राम्रो खेल्नु आवश्यक छ,’ घरेलु टोलीका प्रशिक्षक स्ट्रिकले थपे, ‘खेलाडीका लागि मात्र होइन देशका लागि पनि अर्को वर्ष हुने विश्वकप खेल्नुले ठूलो महत्व राख्छ।’

बर्मुडामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–३ को उपाधि जितेपछि नेपालले न्युजिल्यान्डमा २०१५ को विश्वकपका लागि छनोट प्रतियोगिता खेलेको थियो । तर, न्युजिल्यान्डमा समूह ‘ए’ मा रहेको नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । स्कटल्यान्ड, हङकङ, युएई र क्यानडासम्मिलित समूहचरणका खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन । जिम्बाब्वेमा पनि हङकङ र स्कटल्यान्ड नेपालका पुरानै प्रतिद्वन्द्वी हुन् । समूह ‘बी’ मा रहेको नेपालले यसपालि अफगानिस्तान र जिम्बाब्वेविरुद्ध पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, युएई र वेस्ट इन्डिज छन् । दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुईले २०१९ मा वेल्स र इङल्यान्डमा हुने विश्वकपपमा स्थान बनाउनेछन् । नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछ । तथापि नेपालका प्रशिक्षक जगत टमाटा जिम्बाब्वेमा आफ्नो टोलीको मुख्य पहिलो लक्ष्य सुपरसिक्स रहेको बताए।

‘सबै खेलाडी फिट छन् । उनीहरूले अन्तिम बलसम्म खेलेर नतिजा निकाल्न सक्षम छौं भनेर प्रमाणित गरेका छन् । त्यसैले खेलाडीको मनोबल उच्च छ,’ प्रशिक्षक टमाटाले थपे, ‘हाम्रो पहिलो लक्ष्य राम्रोभन्दा राम्रो क्रिकेट खेलेर सुपर सिक्समा स्थान बनाउनु हो । त्यसपछि हामी एकदिवसीय मान्यताबारे सोच्नेछौं।’

विश्वकप क्रिकेट छनोटमा नेपाल
मिति                   खेल
फागुन २०         जिम्बावेविरुद्ध
फागुन २४        स्कटल्यान्डविरुद्ध
फागुन २६        अफगानिस्तानविरुद्ध
फागुन २८         हङकङविरुद्ध

प्रकाशित: २० फाल्गुन २०७४ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App