८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

सञ्जय थापा/सुमन चापागाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन्। चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

गत साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सोमबार स्वागत गर्ने क्रममै प्रधानमन्त्री ओलीले शुक्रबार जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । त्यहीअनुसार जन्मदिनमा केक लिएर बालकोट र बालुवाटार धाउने थुप्रै शुभेच्छुकहरुबाट शुभकामना लिने व्यस्तताका बीच प्रधानमन्त्री ओलीले शुक्रबार निर्धारित समयभन्दा डेढ घन्टा ढिलो बालुवाटार पुगेर क्रिकेटरहरुसँग केक काटे।

प्रधानमन्त्री निवास बालुवाटारको निजी सचिवालय हलमा नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सरकारका तर्फबाट ३ लाख तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट १ लाखका दरले प्रदान गरेलगत्तै प्रधानमन्त्री ओलीले केक काटेर राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई खुवाए। मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले प्रधानमन्त्रीको जन्मदिन मनाउन ‘बर्थडे केक’ ल्याएका थिए।

त्यसअघि पारसले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षमा देशमा क्रिकेट र फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने अपेक्षा राखेका थिए । जिम्बाब्वेमा फागुन २० बाट सुरु हुने विश्वकप छनोटको विशेष तयारीका लागि शनिबार त्यसतर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री ओलीले सम्मानकै अवसरमा विदाई पनि गरे।

सम्मान तथा विदाईका अवसरमा प्रधानमन्त्री ओलीले क्रिकेट टोलीको सफलतालाई ‘नेपाल सम्बृद्धिको बाटोमा अघि बढ्न लागेको लक्षण’ भनेर बयान गरे ।

‘खेलकुद समग्र राष्ट्रलाई एक ठाँउमा उभ्याउने एक उत्तम सुत्र हो । म नेपाली क्रिकेट टोलीलाई जिम्बाव्बे भ्रमणका लागि शुभकामना दिदै थप सफलताको कामना गर्न चाहन्छु । नामिबियमा हात पारेको सफलताले जिम्बाव्बेमा पनि निरन्तरता पाओस भन्ने चाहन्छु,’ ओलीले भने, ‘सरकार राष्ट्र विकासमा समग्र खेल क्षेत्रले पुर्‍याउने  योगदानका बारेमा जानकार छ । म यसै कार्यक्रम मार्फत अबको नेतृत्वले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै त्यही अनुरुपका कार्यक्रम ल्याउने विश्वास दिलाउन चाहन्छु।’

राष्ट्रिय टोलीका कप्तान पारसले सिमित श्रोत र सधानका बावजुद नेपाली क्रिकेट टोलीले उपलब्धि हात पारेको भन्दै आगामी दिनमा थप सफलताका लागि सरकारले समग्र खेल क्षेत्रमा उल्लेख्य लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

‘हामीले सधै नेपालको झण्डाका लागि खेलेका छौं र अझ मिहिनेत गर्दै नेपाली क्रिकेटलाई थप उचाईमा लौजान चाहन्छौं,’ पारसले थपे, ‘यसका लागि सरकारले खेलकुदका लागि छुट्याउने बजेट समेत बृद्धी गर्दै खेलकुद विकासका लागि दुरगामी योजनाहरु ल्याउनु पर्छ।’

 

प्रकाशित: ११ फाल्गुन २०७४ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App