coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्मी हेटौंडा गोल्डकपको सेमीफाइनलमा

मकवानपुर –  टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा सुदूरपश्चिम ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ। ट्राईब्रेकरमा ३ का बिरुद्ध ५ गोल गर्दै सुदूरपश्चिमलाई प्रतियोगिताबाट बाहिरि¥याएर आर्मीले आफूलाई सुरक्षित बनाएको हो।

प्रतियोगिताको तेश्रो संस्करणको समूह ‘ए’ को ४ टिममध्ये आर्मी र सुदूरपश्चिमबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो। पहिलो हाफमा दुबै टोलीले राम्रो खेल प्रदर्शन गरेपनि कुनै गोल गर्न सकेनन्। दोश्रो हाफको ६९ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले १ गोल गर्दै आर्मीलाई बिजयी टिमको दाबेदारी प्रस्तुत गरेका थिए। श्रेष्ठले डिबक्सभित्रबाट सुदूरपश्चिमका किपरलाई झुक्याउँदै  प्रहार गरेको बलले जाली चुमेको थियो। त्यसपछि आक्रामक बनेको सुदूरपश्चिमका बिनोद केशीले खेलको ८२ मिनेटमा १ गोल गर्दै खेल बराबरी बनाएका थिए। 

आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, बिवेक बस्नेत र बिकेश कुथुले गोल गरेका थिए । सुदूरपश्चिमका नरेन्द्र चौधरी, भोगेन्द्र चौधरी र चेतन थारुले बललाई जाली चुमाउन सफल भएपनि राकेश हमाल असफल भएसँगै आर्मीको जित पक्का भएको हो। खेलमा आर्मीका किपर बिकेश कुथु म्यान अफ दी म्याच घोषित भए।

आर्मीले प्रतियोगिताको सेमिफाईनलमा समूह ‘ए’ को अर्को बिजेता मनाङ मस्र्याङ्दी क्लबको बुधबार सामना गर्नेछ। समूह ‘ए’ को ४ टिममध्ये मनाङ मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरीको एपीएफलाई आईतबार ०–१ गोलले हराएको थियो।

शनिबार सिमरा गोल्ड कप जितेको त्रिभुवन आर्मी क्लबका कोच नविन न्यौपानेले खेलाडीहरुले बिना रेष्ट लगातार प्रतियोगिता खेल्नु परेकाले प्रेसर परेको बताए। अग्रज खेलाडी घाईते भएकाले नयाँ पुस्ताका खेलाडीलाई मैदानमा उतार्नु परेकाले खेल ‘टफ’ भएको स्वीकारे। उनले आर्मीका खेलाडीहरुले रेष्ट र रिकभरी भएर सेमिफाईनलमा मनाङ मस्र्याङ्दी क्लब बिरुद्धमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

सुदूरपश्चिम ११ का कोच एवम् अध्यक्ष सुरेश हमालले खेलका रेफ्रि सुदीश पाण्डेले धाँधली गरेको आरोप लगाउँदै ठुला क्लबहरुलाई जिताउने भए अरु किन खेल्ने भन्दै असन्तुष्टि जनाए। ट्राईब्रेकरमा राकेश हमालले प्रहार गरेको बल स्पष्ट गोल भएको देखिने भिडियो देखाउँदा समेत रेफ्रि पाण्डे र आयोजकले सुनुवाई नगरेको भन्दै उनले दुःख व्यक्त गरे। 

मंगलबार समूह ‘बी’को समुह चरणको अन्तिम खेलमा संकटा क्लब बिरुद्ध थ्रि स्टार क्लबले सामना गर्दैछ। बिजेता टिमले समूह ‘बी’मा रहेका ४ मध्ये बिजय युथ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै बिजयी भएको नेपाल पुलिस क्लबसँग बिहिबार सामना गर्नेछ। पुलिसले बिजय युथलाई ३–० फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको थियो।

फागुन १२ गतेसम्म हुने फूटबल प्रतियोगितामा करिब ६० लाख रुपैंया खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम हुने टिमले उपाधीसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने छन् । नकआउटका आधारमा सञ्चालन भईरहेको प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैंया समेत प्राप्त गर्नेछन्।

‘ए’ डिभिजन क्लबहरु थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित ८ टिमको सहभागिता रहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७४ १५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App