१५ चैत्र २०८० बिहीबार
खेल

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

मकवानपुर – हेटौंडा गोल्डकपको तेश्रो संस्करणमा मनाङ मर्स्याङ्दी क्लबले बिजयी सुरुवात गरेको छ। साविकको उपविजेता मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठले पेनाल्टी मार्फत् निर्णायक १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गराए।

हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा शनिबार भएको उदघाटन खेलको २९ औं मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरलाई फल गरेपछि पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरेका हुन्।

प्रतियोगितामा हाफटाईम अघि मनाङ मस्र्याङ्दीले उत्कृष्ट खेल प्रद्र्धशन गरेको थियो। त्यस्तै हाफटाईमपछि सशस्त्र प्रहरीको एपीएफ क्लबले मनाङ मस्र्याङ्दीलाई दबावमा राखेपनि कुनै गोल गर्न सकेन। प्रतियोगितामा मनाङ मर्स्याङ्दीका अञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए।

खेलपछि मनाङ मर्स्याङ्दीका कोच छिरिङ लोप्साङ गुरुङ्गले आफ्नो टिम बिजयी भएपनि वर्क परमिटको कारण २–३ जना विदेशी खेलाडीले खेल्न नपाउँदा उत्कृष्ट नतिजा दिन नसकेको बताए। तालिम गरि सकेको खेलाडीले खेल्न नपाउँन बैकल्पिक खेलाडीलाई खेलाउनुपर्दा कठिनाई भएको उनको भनाई छ। 

एपिएफका कोच रत्नकाजी महर्जनले आफ्नो टिमका खेलाडीहरुले राम्रो अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको स्वीकार्दै मनाङ मर्स्याङ्दीलाई रेफ्रिले दिएको पेनाल्टी उपयुक्त नभएको प्रतिक्रिया दिए। खेलाडीहरु घाइते भएको भन्दै उनले युवा खेलाडीहरुलाई अवसर दिएकाले पनि नतिजामा असर परेको बताए।

करिब ६० लाख रुपैंया खर्च लाग्ने फूटबल प्रतियोगिताको प्रथम हुने टिमले उपाधिसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैंया समेत प्राप्त गर्नेछन्।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको हो। ८ टिम सहभागी हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित हेटौंडाको बिजय युथ र सुदूरपश्चिम–११ को सहभागिता रहेको छ।

साविक विजेता त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ सोमबार तथा समुह चरणको अन्तिम खेलमा मंगलबार थ्रि स्टार क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवम् प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले बताए। भूकम्पका कारण काठमाडौंमा निधन भएका हेटौंडाका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको हो। अघिल्लो दुई संस्करणमा भारतीय र भुटानी क्लबले सहभागिता जनाएपनि उत्कृष्ट प्रदर्शन गर्न नसकेकाले यसवर्ष विदेशी क्लबलाई प्रतियोगितामा समावेश नगराएको आयोजकले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७४ १५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App